आज मौसम खुला रहने, बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

९ कार्तिक २०८३, सोमबार ०७:०४

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी दिनमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशमा वर्षा, मेघगर्जन र चट्याङसहित हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ । आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

मङ्गलबार कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । कोशी प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । मङ्गलबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार भने देशभर सामान्यतया बादल लाग्ने अनुमान गरिएको छ । यस दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

बिहीबार मौसम थप बदली हुने देखिएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा समेत भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*