हराएको चेकमा किर्ते हस्ताक्षरः खातावालामाथि नै चेक बाउन्सको मुद्दा, एनआईसी एशियाले किन देखेन जालसाजी ?

१० असार २०८३, बुधबार १७:०३

काठमाडौं । एक निजी कम्पनीमा सरसफाइको काम गर्दै मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्ने स्ववित्रा फुयाल अहिले आफूले नलेखे, नदिएको र हस्ताक्षरसमेत नमिलेको चेकका कारण कानुनी झमेलामा परेकी छन् । उनको हराएको चेक दुरुपयोग भएपछि लाखौं रुपैयाँको चेक अनादर (बाउन्स) सम्बन्धी प्रक्रिया अघि बढेको छ ।

काठमाडौंको कपनमा बस्दै आएकी फुयालको एनआईसी एशिया बैंकको चेक हराएको थियो । चेक हराएको थाहा पाएपछि उनले तत्काल प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । आफूले प्रयोग नगरेको र हराइसकेको चेकको दुरुपयोग हुन सक्ने भन्दै उनले सम्बन्धित निकायलाई जानकारी गराएकी थिइन् । तर, हराएको चेक सुशान्त श्रेष्ठ नाम गरेका व्यक्तिले फेला पारेपछि त्यसको दुरुपयोग गरेको खुलेको छ । सुशान्तले फुयालसँग कुनै चिनजान वा आर्थिक कारोबार नभएको अवस्थामा पनि उनको नाममा रहेको चेक प्रयोग गरेर आफूले रकम तिर्नुपर्ने विभिन्न व्यापारीलाई चेक दिएका थिए ।

सुशान्तले सुनसरीका अण्डा व्यवसायी भरत कार्की तथा चितवनका चेतप्रसाद कँडेललाई अण्डा खरिद गरेबापत स्ववित्रा फुयालको नाममा रहेको चेक हस्तान्तरण गरेका थिए । चेक प्राप्त गरेपछि व्यवसायीहरूले ती चेक बैंकिङ प्रक्रियामार्फत साट्न खोजे । तर, चेक साटिएन । कारण स्पष्ट थियो । पहिलो, फुयालको खातामा चेकमा उल्लेख भएको रकम बराबर मौज्दात थिएन । दोस्रो, चेकमा गरिएको हस्ताक्षर खातावालाको वास्तविक हस्ताक्षरसँग मेल खाँदैनथ्यो । अर्थात् चेकमा किर्ते हस्ताक्षर गरिएको थियो ।

चेकमा हस्ताक्षर नमिलेको तथ्य बैंकले आफैं स्वीकार गरेको अवस्थामा पनि चेक अनादर सम्बन्धी कानुनी प्रक्रिया भने खातावाला फुयालविरुद्ध नै अघि बढाइएको छ । भरत कार्कीले चेक बैंकिङ प्रक्रियामार्फत प्रस्तुत गरेपछि चेक भुक्तानी हुन सकेन । त्यसपछि उनी चेक अनादर सम्बन्धी कानुनी प्रक्रियातर्फ अघि बढे । त्यसक्रममा एनआईसी एशिया बैंकको बौद्ध शाखाले खातावाला स्ववित्रा फुयालको नाममा चेक अनादर सम्बन्धी ४५ दिने सूचना जारी गर्यो । बैंकले जारी गरेको पत्रअनुसार २०८१ फागुन ४ गतेको ३ लाख १५ हजार ३०० रुपैयाँको चेक अपर्याप्त मौज्दात तथा हस्ताक्षर फरक परेको कारण भुक्तानी हुन नसकेको उल्लेख छ । यस्तै २०८१ फागुन १८ गतेको २ लाख ८५ हजार २८० रुपैयाँ बराबरको अर्को चेक पनि भुक्तानी हुन सकेन । उक्त चेक रोक्का गरिएको कारण भुक्तानी हुन नसकेको जानकारी बैंकले दिएको थियो ।

यही पत्र हातमा परेपछि फुयाल तनावमा परिन् । दैनिक जीवन धान्न संघर्ष गरिरहेकी एक सर्वसाधारण महिला एकाएक लाखौं रुपैयाँको चेक बाउन्स प्रकरणमा तानिइन् । फुयालले आफूले ती चेक जारी नगरेको, हस्ताक्षर आफ्नो नभएको तथा चेक हराएको विषय यसअघि नै प्रहरी र बैंकलाई जानकारी गराइसकेको बताएकी छन् । उनले आफ्नो नाम कालोसूचीमा पर्ने तथा अन्य कानुनी समस्या सिर्जना हुन सक्ने भन्दै सम्बन्धित निकायमा निवेदन दिएकी छन् ।

घटनापछि वास्तविकता बिस्तारै बाहिर आएपछि आफूहरू पनि ठगिएको भन्दै व्यवसायी भरत कार्की र चेतप्रसाद कँडेल समेत अहिले फुयालको पक्षमा उभिएका छन् । उनीहरूले पनि आफूहरूलाई चेक दिने व्यक्ति सुशान्त श्रेष्ठ नै भएको र वास्तविक खातावाला फुयालसँग कुनै कारोबार नरहेको बताएका छन् । हाल भरत कार्की, चेतप्रसाद कँडेल र स्ववित्रा फुयाल तीनै जना मिलेर सुशान्त श्रेष्ठविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । बालाजु प्रहरी वृत्तमा उजुरी दर्ता गरिएको छ। तर, घटनाका मुख्य आरोपी मानिएका सुशान्त श्रेष्ठ भने हालसम्म फरार रहेका छन् ।

फुयालका अनुसार उनले गौशाला, महाराजगञ्ज तथा भद्रकालीस्थित प्रहरी कार्यालयमा समेत पटकपटक धाएकी छन् । विभिन्न प्रहरी इकाइबाट अनुसन्धान गर्ने र आरोपीलाई पत्ता लगाउने आश्वासन पाए पनि अहिलेसम्म ठोस उपलब्धि हासिल हुन सकेको छैन ।

यस घटनाले भने बैंकिङ प्रणाली र विशेषगरी एनआईसी एशिया बैंकको आन्तरिक नियन्त्रण प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । बैंकले जारी गरेको पत्रमै हस्ताक्षर फरक परेको उल्लेख गरेको छ । सामान्य बैंकिङ अभ्यासअनुसार चेकमा खातावालाको हस्ताक्षर नमिल्दा बैंकले त्यसलाई शंकास्पद कारोबारका रूपमा हेर्ने गर्छ । यस्तो अवस्थामा खातावालालाई सम्पर्क गर्ने, विवरण बुझ्ने तथा आवश्यक सुरक्षा उपाय अपनाउने गर्दछ् । हस्ताक्षर नमिल्नु भनेको सम्भावित जालसाजीको प्रारम्भिक संकेत हो । अझ खातावालाले चेक हराएको जानकारी यसअघि नै बैंकलाई गराइसकेको अवस्था भए बैंक थप सतर्क हुनुपर्ने थियो । तर, यस घटनामा बैंकले हस्ताक्षर फरक भएको पुष्टि गरे पनि चेक अनादरको प्रक्रिया भने खातावालाविरुद्ध अघि बढाएको देखिन्छ ।

यदि बैंकलाई चेक हराएको जानकारी थियो भने ती चेकहरू प्रयोग हुन नदिन पर्याप्त सुरक्षा व्यवस्था किन गरिएन ? हस्ताक्षर नमिलेको अवस्थामा खातावालालाई तत्काल सम्पर्क किन गरिएन ? जालसाजीको स्पष्ट संकेत देखिँदा पनि खातावालालाई नै कानुनी जोखिममा पार्ने प्रक्रिया किन अघि बढाइयो ? मासिक २०–२२ हजार रुपैयाँ आम्दानी गर्ने व्यक्तिको खाताबाट एक्कासि लाखौं रुपैयाँ बराबरका चेक कारोबार हुन खोज्दा त्यसलाई शंकास्पद कारोबारका रूपमा किन हेरिएन भन्ने प्रश्न पनि उठिरहेको छ । बैंकिङ प्रणालीमा सामान्यतया खातावालाको हस्ताक्षर प्रमाणीकरण, कारोबारको प्रकृति विश्लेषण, जोखिम मूल्यांकन तथा आवश्यक परे खातावालासँग प्रत्यक्ष सम्पर्क गर्ने व्यवस्था हुन्छ । तर, फुयालको घटनामा यस्ता सुरक्षा संयन्त्र प्रभावकारी रूपमा प्रयोग नगरेको देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*