ब्याजदर घट्दा नागरिकहरु बैंकबाट बीमा कम्पनीमा सिफ्ट

९ असार २०८३, मंगलवार १४:३८

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्दा नागरिकहरु बीमा कम्पनीमा सिफ्ट हुन थालेका छन् ।

ब्याजदर घट्दाको प्रत्यक्ष सकारात्मक असर बीमा क्षेत्रमा देख्न थालेको छ । बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बीमा गर्न थालेको बीमा सम्बन्धी जानकार बताउँछन् ।

बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याजभन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमा आकर्षण बढेको उनीहरूको भनाइ छ ।

गत वैशाखसम्म बीमा कम्पनीहरूले २ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत वर्षको तुलनामा यस वर्षको वैशाखसम्म कम्पनीहरूको बीमा शुल्क संकलन १४.२७ प्रतिशतले बढेको हो । गत वर्षको वैशाखसम्म बीमा कम्पनीहरूले १ खर्ब ७६ अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

पछिल्लो तीन वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएको छ । ब्याजदर घटेर इतिहासकै न्यून विन्दुमा पुगेको छ । जसको कारण बीमामा सर्वसाधारण सिफ्ट भएका छन् ।
बीमामा   पहिलो जीवन तथा सम्पत्तिको सुरक्षा हुन्छ । र, दोस्रो बैंकको ब्याजभन्दा बढी प्रतिफल पाइन्छ ।’ सो कारण पनि बीमामा आकर्षण सर्वसाधारणको बढेको भनाई रहेको छ।

अघिल्लो वर्षको तुलनामा गत वैशाखसम्म जीवन बीमा कम्पनीको बीमा शुल्क १३.९८ र निर्जीवन बीमा कम्पनीको शुल्क १५.४२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष निर्जीवन र जीवन बिमाको नवीकरण बीमा शुल्क संकलनमा वृद्धि भएकाले वित्तीय र बीमा क्षेत्रको वृद्धिदर ९.१६ प्रतिशत रहने प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।

गत वैशाखसम्म नेपालमा बीमा पहुँच करिब साढे ५० प्रतिशत पुगेको छ । बीमा सेवाको विस्तार बढेकाले समग्र बीमा पहुँचमा पनि वृद्धि भएको प्राधिकरणको मासिक तथ्यांक छ । गत वैशाखसम्म मुलुकको कुल जनसंख्याको ४९.३४ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर रहेको प्राधिकरणले बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*