शिखर सरकारद्वारा वर्षदिनमा पदाधिकारी सुविधामा १ करोड २५ लाख खर्च, प्रमुख भन्छन् ‘कानुनसम्मत सुविधा हो’

काठमाडौँ । डोटीको शिखर नगरपालिकाले एकै आर्थिक वर्षमा जनप्रतिनिधिको सुविधामा उल्लेख्य रकम खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार नगरपालिकाले पदाधिकारी सुविधामात्रै शीर्षकमा एक वर्षको अवधिमा १ करोड २५ लाख ७ हजार रुपैयाँ खर्च गरेको हो ।
पदाधिकारी सुविधा मार्फत खर्च भएको रकम नगरपालिकाले सोही वर्ष संकलन गरेको कुल आन्तरिक आम्दानी ७८ लाख ३५ हजार रुपैयाँको १५९.६३ प्रतिशत बराबर रहेको प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदनमा नगरपालिकाको खर्च संरचनाले विकास निर्माणभन्दा प्रशासनिक तथा पदाधिकारी सुविधामा बढी जोड दिएको देखिएको उल्लेख गरिएको छ।
अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा भने नगरले पदाधिकारी सुविधा मार्फत १ करोड १० लाख १२ हजार ८८२ रुपैयाँ खर्च गरेको थियो । गत वर्ष भने पदाधिकारी खर्च करिब १५ लाख रुपैयाँले बढाएको देखिएको छ ।
नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरूको सेवा–सुविधाअन्तर्गत बैठक भत्ता, यातायात खर्च, इन्धन, सञ्चार, इन्टरनेट, अतिथि सत्कार, चाडपर्व खर्च, मासिक सञ्चार सुविधा, बिमा, सवारी सुविधा तथा अन्य शीर्षकमा १ करोड २५ लाख ७ हजार रुपैयाँ खर्च गरिएको हो।
नगरपालिकाका प्रमुख दिर्घ बलायर भने प्रदेश सरकारले दिएको सुविधा बमोजिमनै खर्च भएको बताए । उनले भने, ‘प्रदेश सरकारले दिएको सुविधा अन्तर्गत नै उक्त रकम खर्च भएको हो । जसअन्तर्गत हाम्रो नगरभित्र ५९ जना जनप्रतिनिधि पर्छन् ।’
सरकारले दिएको सुविधा लिनु जनप्रतिनिधिको अधिकार रहेको बताउँदै प्रमुख बलायरले सबै रकम कानुनसम्मत नै खर्च भएको बताए । ‘नेपाल सरकारले दिएको सुबिधा लिनु उसको अधिकार त होला नि । नलिनु भनेको खण्डमा नलिउला’ बलायरले भने ।
शिखर नगरपालिकाले एक वर्षमा अतिथि सत्कारमा मात्रै खर्चियो २७ लाख











