बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा ढिलाईको राज के हो ?

काठमाडौं । २०८३ जेठ १३ गते नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सरकारले आवेदन खुल्ला गरेकोमा ५१ जना (हालसम्म अर्थमन्त्रालयले प्रमाणित नगरेको) ले आवेदन दिएका छन् । ७ दिने सुचना अनुसार आवेदन संकलन भएपनि हालसम्म अर्थमन्त्रालयले क–कसले आवेदन दिए भनेर समेत विवरण सार्वजनिक गर्न सकेको छैन ।
आवेदन दर्ता प्रक्रिया पूरा भएको आज ठीक दुई महिना बितिसक्दा पनि अर्थमन्त्रालयले बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको औपचारिक जानकारी सार्वजनिक गरेको छैन । यतिसम्म गोप्य छ कि आवेदक कति जना थिए भन्ने सम्मको विवरण माग्दा अर्थमन्त्रालयका प्रवक्ताहरु पन्छिदै आएका छन् । अर्थमन्त्रालय स्रोत भन्छ, ‘प्रधानमन्त्री कार्यालयको ठाडो आदेश छ, यसबारे बोल्दै नबोल्नु ।’ सरकार प्रमुख बालेन शाह आफै पारदर्शिता, सुशासनको पक्षमा चट्टानी अडान लिएको भन्ने सुनिए पनि प्रधानमन्त्री कार्यालयबाट कसले अर्थमन्त्रालयलाई यसरी दवाव दिइरहेको छ ? खुल्न सकेको छैन ।
बीमा प्राधिकरणमा चरम राजनीतिक हस्तक्षेप र सेटिङ गर्ने यसअघिका अर्थमन्त्री बिष्णु पौडेलले यत्तिको तामाशा अर्थमन्त्रालयमा देखाएका थिएनन् । भ्रष्टाचारका आरोपी बिष्णु पौडेल, जनार्दन शर्माहरु अर्थमन्त्रालयमा भएको समयमाभन्दा बढी अहिले विवरण लुकाउन थालिएको छ । प्रश्न उठेको छ, अर्थमन्त्रालयमा पारदर्शिता छ कि बन्द कोठाभित्र केही पाक्दैछ ? कतै विगतमा झै सेटिङ भइरहेको त छैन ?
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद रिक्त भएको वर्षदिन पूरा भइसकेको छ । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको पनि चार महिना नाघिसकेको छ । अनि अध्यक्ष नियुक्तिको लागि आवेदन माग गरिएको पनि दुई महिना बितिसकेको छ । त्यसो भए नयाँ अध्यक्ष नियुक्त नहुनुको कारण के हो ? बजारमा अनेकन खाले हल्लाहरु प्रचलित छन् । जस मध्ये एउटा हल्ला हो, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय रहेको बनस्थलीस्थित घरधनीका नातामा भतिजा पर्ने देवकोटा थरका व्यक्तिलाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति गर्ने प्रपञ्च भइरहेको छ । यो हल्लालाई सरकारकै केही गतिविधिहरुले पुष्टी समेत गरिरहेको छ । पहिलो तथ्य, आवेदकहरुको नाम गोप्य राखिनु । दोस्रो ७ दिनको अवधी राखेर आवेदन माग्ने दुई महिनासम्म कुनै प्रक्रिया अघि नबढनु, तेस्रो छनौट समितिको बैठक बस्नै नसक्नु आदि ।
रास्वपाको नेतृत्वमा दुई सिट कम दुई तिहाई मत पाएपछि सबैभन्दा पहिला देशका ठूला कारवाही बीमा क्षेत्रमा गरेको भन्दै बखान गरिरहेको छ । तर, त्यही बीमा क्षेत्रमा सेटिङबाट अध्यक्ष नियुक्ति गरेर पचाउन सक्छु भनेर आँट गरेकै होला त ? अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयका कोर टिमलाई राम्रोसँग थाहा छ बीमा क्षेत्रमा सेटिङमा अध्यक्ष बनाउन सकिदैन, उसो भए फेरि किन जोडबल ? आगामी समय रोचक बन्ने निश्चित छ !











