रास्वपा, प्रधानमन्त्री र अर्थमन्त्रीको बार्गेनिङ गर्ने थलो बन्यो बीमा प्राधिकरण

काठमाडौं । यसअघि एमाले र माओवादीले ब्रम्हलूट मच्चाउने थलो बनाएको बीमा प्राधिकरणमा अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत पुरानै प्रवृत्ति दोहोर्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्ना स्वार्थ पुरा गर्न छुट्टाछुट्टै योजना अघि सारेपछि बीमा प्राधिकरण फेरि पनि रणमैदान बन्न पुगेको छ ।
बीमा प्राधिकरण लामो समयदेखि अध्यक्ष पद विहिन छ । नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया दोस्रो पटक अबरुद्ध बनिरहेको छ । विगतमा केपी ओली नेतृत्वको सरकारले नयाँ नियुक्ती गर्ने तयारी सुरु गरिसकेपछि जेनजी आन्दोलनका कारण भाँडिएको थियो । नयाँ सरकारले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि ७ दिने सूचनामार्फत आवेदन माग गरेकोमा दुई महिना अवधी नाघिसक्दा समेत को को आवेदकहरु थिए भनेर सार्वजनिक गर्न मानेको छैन ।
बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया जारी रहेकै बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमा क्षेत्रको अध्ययन तथा सिफारिस गर्न भन्दै सानिमा ग्रुप सम्बद्ध सुशिल कुमार ओझाको संयोजकत्वमा स्वार्थ बाझिने समिति गठन गरेपछि अर्को समस्या थपिएको छ ।
बीमा क्षेत्रको अध्ययन गर्न भन्दै अर्थमन्त्रीले गठन गरेको समिति मन्त्री वाग्ले आफ्नै स्वार्थ बाझिने खालको छ । मन्त्री वाग्ले सानिमा बैंकको समुहबाट धेरै नै प्रभावित छन् । सानिमा बैंकमा मन्त्री वाग्लेले शेयर समेत रहेको छ । यसअघि धितोपत्र बोर्डमा सोही सानिमा बैंकका पूर्व सिईओ भुवन दाहाललाई विज्ञ सदस्य राखेर समिति बनाए । तर, उनै दाहालले स्वार्थ बाझिने व्यक्तिहरु छनौट गरेर मन्त्री वाग्लेलाई डुबाईदिए । अहिले फेरि सानिमा ग्रुपसँग आबद्ध भएका सुशिल कुमार ओझालाई बीमा क्षेत्रको अध्ययन गर्न भन्दै समिति गठन गरेका छन् ।
अर्थमन्त्री डा. वाग्लेले उक्त समिति गठन गर्नुको पछाडि नयाँ अध्यक्ष नियुक्तीमा लफडा परेको भन्ने सहजै अनुमान लगाउन सकिन्छ । १०० दिनमा सबै कामहरु फटाफट सकाउने भन्दै बीमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिने अवधी समेत ७ दिनको मात्रै दिई अर्को सात दिनमा नयाँ अध्यक्ष नियुक्ती गर्ने हौवा पिटेको सरकारले जेठ १३ गते आवेदन खुल्ला गरी जेठ २० गतेसम्म आवेदन लिएको थियो । प्राधिकरणको अध्यक्ष पदमा ५० जनाले आवेदन दिएका छन् । हालसम्म प्राप्त आवेदकहरु को को हुन् भनेर समेत सार्वजनिक गर्न सकेको छैन ।
कसको स्वार्थ के ?
बीमा प्राधिकरणमा अर्थमन्त्री स्वर्णिम वाग्ले आफू निकट सानिमा समुहका कुनै एक अमूक पात्रलाई अघि सार्न चाहेको स्रोतको भनाई छ । उता, राष्ट्रिय स्वतन्त्र पार्टीले घरबेटीका तीन पुस्ताभित्रको नाता पर्ने देवकोटा थरका व्यक्तिलाई बीमा प्राधिकरणको अध्यक्ष बनाउन दवाव दिइरहेका छन् । तर, ति देवकोटा थर भएका व्यक्तिको योग्यता समेत नपुग्ने तथ्य बीमापोष्टले फेला पारिसकेको छ ।
उता, सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाहले भने छनौट समितिमा प्रा.डा. फत्त बहादुर केसी जस्तो व्यक्ति नियुक्त गरिएकोले डा. केसीले निष्पक्ष छानविन गरेर तीन जनाको सर्टलिष्ट मध्येबाट नयाँ अध्यक्ष नियुक्त गर्नु पर्ने भन्दै जाेड दिइरहेका छन् । दुई दिन पहिले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीका बीचमा भएकाे छलफलमा मुख्य मुख्यमा गरिने नियुक्तिकाे बिषयमा पनि छलफल गरेका थिए ।
बीमा प्राधिकरणकाे अध्यक्षमा सधै पार्टी, सरकार र अर्थमन्त्रीका बीचमा बार्गेनिङ हुने यसअघि देखिकै पुराना दलहरूकाे परम्परा हाे । जुन कुरा नयाँ सरकारमा पनि देखिएकाे छ ।
यसअघि पनि बीमा प्राधिकरणको अध्यक्ष पटक–पटक विवादमा परिसकेको अवस्थामा पुरानै शैलीमा सरकार अघि बढ्नु सिंगो बीमा क्षेत्रका लागि दुर्भाग्यपूर्ण बन्न पुगेको छ ।
बीमा क्षेत्रले योग्यता, क्षमता, बीमा क्षेत्रमा दीगो नीतिमार्फत प्रभावकारी नियमन गर्न सक्ने कुशल व्यक्तिलाई अध्यक्षको रुपमा प्रतिक्षा गरिरहेको छ । बीमा क्षेत्रको यो अपेक्षा पुरा गर्न सरकार, अर्थमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सफल होला ? आगामी दिनले निक्र्यौल गर्नेछ ।











