लक्ष्मी लघुवित्तको नाफा ३ करोड ३२ लाख, खराब कर्जा १२ प्रतिशत नाघ्यो

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा बढाएको छ। कम्पनीले असोज मसान्तसम्म ३ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको खुद नाफा ७.६३ प्रतिशतले बढेको हो।
कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानीमा समेत सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ रुपैयाँ ९९ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा बढेर ३० रुपैयाँ १३ पैसा पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ। गत वर्षको पहिलो त्रैमासमा १४ करोड ७ लाख ४० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षमा घटेर १२ करोड ९९ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी १४ करोड ३२ लाख ७३ हजार रुपैयाँ रहेको छ। गत वर्ष यस्तो आम्दानी १५ करोड ४० लाख ९२ हजार रुपैयाँ थियो।
यद्यपि, कम्पनीको सञ्चालन नाफा भने बढेको छ। गत वर्ष ४ करोड ४१ लाख ५५ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ४ करोड ७५ लाख ६ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ। असोज मसान्तसम्म कम्पनीको सञ्चित तथा जगेडा कोषमा ३ करोड ७७ लाख १७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ११ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ।
कम्पनीको कुल सम्पत्ति ६ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ। त्यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा ६ अर्ब ११ करोड १४ लाख रुपैयाँ पुगेको छ भने निक्षेप तथा सापटी २८ करोड ५६ लाख ८९ हजार रुपैयाँ रहेको छ।
कम्पनीको खराब कर्जा अनुपात भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११.७९ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १२.१२ प्रतिशत पुगेको छ।











