बीमा कम्पनीहरूले कर्मचारी सुविधामा खर्चिए १२ अर्ब ५५ करोड, हिमालयन लाइफ र सिद्धार्थ प्रिमियर शीर्ष स्थानमा

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कर्मचारी सुविधा बापत गर्ने खर्चमा वृद्धि भएको छ। सार्वजनिक भएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार २८ वटा बीमा कम्पनीहरूले कर्मचारी सुविधामै कुल १२ अर्ब ५५ करोड ७० लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो खर्च झन्डै ३.४५ प्रतिशतले बढी हो।
जीवन बीमा कम्पनीहरूको खर्च ७ अर्ब नाघ्यो
जीवन बीमा क्षेत्रका १४ वटा कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब २९ लाख रुपैयाँ कर्मचारी सुविधामा खर्चेका छन्। यो खर्च अघिल्लो वर्षको ६ अर्ब ६६ करोड ६१ लाखको तुलनामा ५.०५ प्रतिशतको वृद्धि हो। जीवन बीमा कम्पनीहरूमध्ये हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारीका लागि सबैभन्दा धेरै खर्च गर्ने कम्पनी बनेको छ जसले ९० करोड २७ लाख रुपैयाँ खर्च गरेको छ ।

यसैगरी नेपाल लाइफले ८३ करोड ९८ लाख र सूर्यज्योति लाइफले ६८ करोड ५५ लाख रुपैयाँ कर्मचारी सुविधामा खर्चेका छन् । प्रतिशतका आधारमा हेर्दा रिलायबल नेपाल लाइफको कर्मचारी खर्चमा सबैभन्दा उच्च ३४.४७ प्रतिशतको वृद्धि देखिएको छ । यद्यपि नेपाल लाइफ, मेट लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी लगायतका ६ वटा कम्पनीको कर्मचारी खर्चमा भने अघिल्लो वर्षको तुलनामा केही गिरावट आएको छ ।
निर्जीवन बीमा तर्फ सिद्धार्थ प्रिमियरको खर्च सबैभन्दा धेरै
निर्जीवन बीमा व्यवसाय गर्ने १४ कम्पनीहरूले गत आर्थिक वर्षमा कुल ५ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ कर्मचारी सुविधामा खर्च गरेका छन्। यो खर्च अघिल्लो आर्थिक वर्षको ५ अर्ब ४७ करोड २६ लाखको तुलनामा १.४९ प्रतिशतको झिनो वृद्धि हो । निर्जीवन बीमा कम्पनीहरूमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा धेरै ६८ करोड ६४ लाख रुपैयाँ खर्चिएको छ।

शिखर इन्स्योरेन्स ६२ करोड ३१ लाख रुपैयाँ खर्च गर्दै दोस्रो स्थानमा छ भने सलिको ५५ करोड ३३ लाख रुपैयाँ खर्चसहित तेस्रो स्थानमा छ। यस अवधिमा ओरिएन्टल इन्स्योरेन्सको कर्मचारी खर्चमा ७१.५९ प्रतिशतको ठूलो वृद्धि देखिएको छ। अर्कोतर्फ नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र युनाइटेड अजोड लगायतका ७ वटा निर्जीवन बीमा कम्पनीहरूले भने अघिल्लो वर्षको तुलनामा कर्मचारी सुविधा खर्चमा कटौती गरेका छन् ।









