टाटाका चार ईभीले ततायो नाडा : नेक्सन, पञ्च, टियागो र सिएरामा उपभोक्ताको नजर, के छ अफर ?

९ भाद्र २०८३, मंगलवार १६:०३

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा टाटा मोटर्सका विद्युतीय सवारीसाधनले उपभोक्ताको उल्लेख्य ध्यान खिचेका छन् । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एकैपटक नयाँ पुस्ताका नेक्सन ईभी रिलोडेड, पञ्च ईभी, टियागो ईभी र बहुप्रतीक्षित सिएरा ईभीलाई बजारमा प्रस्तुत गरेपछि टाटाको स्टलमा उपभोक्ताको व्यापक भिड देखिएको हो ।

विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो रुचीलाई लक्षित गर्दै सिप्रदीले फरक–फरक मूल्य, आकार, क्षमता र प्रयोगका लागि उपयुक्त हुने गरी चार मोडल अघि सारेको हो । पारिवारिक प्रयोगदेखि दैनिक आवतजावत र प्रिमियम एसयूभी खोज्ने ग्राहकसम्मलाई लक्षित यी मोडलले नेपाली ईभी बजारमा टाटाको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

नाडा अटो शोमा टाटाका नयाँ मोडल हेर्न, फिचर बुझ्न र बुकिङ गर्न ग्राहकको बाक्लो उपस्थिति देखिएको छ । विशेषगरी नयाँ डिजाइन, लामो रेन्ज, आधुनिक प्रविधि, सुरक्षा सुविधा र प्रतिस्पर्धी मूल्यका कारण यी मोडलप्रति उपभोक्ताको चासो बढेको देखिन्छ ।

नेक्सन ईभी रिलोडेड: ३७५ किलोमिटर रेन्ज

टाटाको लोकप्रिय विद्युतीय एसयूभी नयाँ नेक्सन ईभी रिलोडेडलाई सिप्रदीले नाडा अटो शोको अवसर पारेर बिक्रीमा ल्याएको हो । यसको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एक्स्पो अवधिको विशेष अफरअन्तर्गत १ लाख रुपैयाँ छुट पाएपछि ग्राहकले ४२ लाख ९९ हजार रुपैयाँमा नेक्सन ईभी खरिद गर्न सक्नेछन् ।

नयाँ नेक्सनमा ४५ किलोवाट आवर क्षमताको अत्याधुनिक प्रिज्म्याटिक ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ३७५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसमा ९८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

चार्जिङका लागि ७.२ किलोवाटको एसी चार्जर तथा ६० किलोवाटसम्मको फास्ट डीसी चार्जिङ सुविधा उपलब्ध छ । ऊर्जा दक्षता बढाउन चार तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसमेत दिइएको छ ।

नेपाली उपभोक्तामाझ यसअघि नै लोकप्रिय बनेको नेक्सन ईभीको नयाँ संस्करणमा डिजाइनसँगै प्रविधि र सुविधामा गरिएको सुधारले ग्राहकको आकर्षण थप बढाएको देखिन्छ ।

पञ्च ईभी: एसयूभीमा नयाँ पुस्ताको आकर्षण

टाटाले सार्वजनिक गरेको अर्को महत्वपूर्ण मोडल नयाँ पञ्च ईभी हो । यसको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । नाडा अटो शो अवधिमा बुकिङ गर्ने ग्राहकले १ लाख रुपैयाँ छुटसहित ३२ लाख ९९ हजार रुपैयाँमा पञ्च ईभी खरिद गर्न सक्नेछन् ।

एक्ट डट ईभी प्लेटफर्ममा आधारित पञ्च ईभीमा ३२ किलोवाट आवर र ४० किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन् । नेपालको सडकमा गरिएको परीक्षणका आधारमा यी ब्याट्रीले पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

१९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनसीएपीको ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस यसका प्रमुख आकर्षण हुन् ।

मध्यम मूल्यमा एसयूभीको अनुभव चाहने नेपाली ग्राहकका लागि पञ्च ईभी महत्वपूर्ण विकल्पका रूपमा आएको छ । विशेषगरी शहर तथा मिश्रित सडकमा प्रयोग गर्ने उपभोक्ताको रुची यसतर्फ देखिएको छ ।

टियागो ईभी: दैनिक आवतजावतका लागि लक्षित

टाटाले नाडा अटो शोमा नयाँ टियागो ईभीसमेत सार्वजनिक गरेको छ । यसको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

दैनिक आवतजावतलाई केन्द्रमा राखेर ल्याइएको टियागो ईभीमा डिजाइन सुधारसँगै नयाँ रङ विकल्प उपलब्ध गराइएको छ । यसमा ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम तथा ६ वटा एयरब्यागलगायत सुविधा छन् ।

तुलनात्मक रूपमा सस्तो मूल्यमा विद्युतीय कार खोज्ने ग्राहकका लागि टियागो ईभीले बजारमा आफ्नो छुट्टै स्थान बनाउन सक्ने देखिन्छ । पेट्रोल तथा डिजेल सवारीबाट विद्युतीय सवारीतर्फ स्थानान्तरण हुन चाहने शहरी उपभोक्ताका लागि पनि यो मोडल आकर्षक बन्ने अपेक्षा गरिएको छ ।

सिएरा ईभीः प्रिमियम एसयूभीतर्फ टाटाको ठूलो दाउ

टाटाको स्टलमा सबैभन्दा बढी चर्चा बटुलेको मोडलमध्ये सिएरा ईभी पनि एक हो । सिप्रदीले नाडा अटो शोबाट यसको प्रि–बुकिङ सुरु गरेको छ । यद्यपि, कम्पनीले हालसम्म यसको आधिकारिक मूल्य सार्वजनिक गरेको छैन ।

सिएरा ईभी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । ६३ किलोवाट आवर ब्याट्रीले ५३५ किलोमिटर र ७५ किलोवाट आवर ब्याट्रीले ६६५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । १५ मिनेटको फास्ट चार्जिङबाट करिब २६३ किलोमिटरसम्म यात्रा गर्न सकिने बताइएको छ ।

आरडब्लूडी भेरियन्टमा १७५ किलोवाट र एब्ल्यूडी भेरियन्टमा २२५ किलोवाट क्षमताको मोटर उपलब्ध हुनेछ । यसले अधिकतम ५०४ न्यूटन मिटर टर्क उत्पादन गर्नेछ ।

फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडलाइट, फ्लस–टाइप डोर ह्यान्डल, सिग्नेचर रियर क्वाटर ग्लास, १८ इन्चका ह्वील, पानोरामिक सनरुफलगायत डिजाइन तथा सुविधा यसका प्रमुख आकर्षण हुन् ।

एक्ट डट ईभी प्लेटफर्ममा आधारित सिएरा ईभीको क्याबिनमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले, ८–स्पीकर अडियो सिस्टम, वायरलेस एन्ड्रोइड अटो, वायरलेस चार्जिङ तथा आईआरए डट ईभी कनेक्टेड कार सुविधा उपलब्ध छन् ।

सुरक्षातर्फ ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्रामअन्तर्गत विभिन्न सुरक्षा फिचर, चारै पाङ्ग्रामा डिस्क ब्रेक, रियर पार्किङ सेन्सर तथा रियर क्यामेरा उपलब्ध छन् ।

टाटाले नेक्सन, पञ्च, टियागो र सिएरा ईभीमार्फत नेपाली विद्युतीय सवारी बजारका विभिन्न तहका उपभोक्तालाई समेट्ने रणनीति लिएको देखिन्छ । २८ लाख ९९ हजार रुपैयाँको टियागो ईभीदेखि प्रिमियम रेन्ज र शक्तिशाली मोटरसहित आउने सिएरा ईभीसम्मका विकल्पले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार मोडल छनोट गर्ने अवसर दिएको छ ।

टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, यस्ता छन् विशेषता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*