बीमा प्राधिकरणका कर्मचारी आन्दोलित, समान सेवा-सुविधा नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू आन्दोलित भएका छन् । सेवा–सुविधामा समानता र आफूहरूले पाउँदै आएको सुविधा निरन्तरताको माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
अन्य नियामक निकायका कर्मचारीले तुलनात्मक रूपमा आकर्षक सेवा–सुविधा पाइरहेको अवस्थामा बीमा प्राधिकरणका कर्मचारीलाई भने क्रमशः सुविधा कटौती गर्दै लगिएको भन्दै उनीहरूले कार्यालय समयमै धर्ना, छलफल तथा दबाबमूलक कार्यक्रम अघि बढाएका हुन् । कर्मचारीहरूले असोज ६ गतेदेखि सुरु गरेको आन्दोलन बुधबार पनि जारी राखेका छन् ।

उनीहरूका अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन) लगायतका नियामक निकायका कर्मचारीले प्राप्त गरिरहेको सेवा–सुविधाको तुलनामा बीमा प्राधिकरणका कर्मचारीले निकै न्यून सुविधा पाउँदै आएका छन् । पछिल्लो समय आफूहरूले पाउँदै आएको सुविधा समेत कटौती हुन थालेपछि आन्दोलन गर्नुपर्ने अवस्था आएको कर्मचारीहरूको भनाइ छ ।
विशेषगरी प्राधिकरणका उच्च तहका अधिकारीहरूले अर्थ मन्त्रालयसँग प्रभावकारी रूपमा समन्वय र आवश्यक ‘लबिङ’ गर्न नसक्दा कर्मचारीको सेवा–सुविधाको विषय लामो समयदेखि ओझेलमा परेको उनीहरूको भनाई छ । कर्मचारीहरूले संस्थाको नेतृत्वले आफ्नो जायज माग सम्बोधनका लागि सम्बन्धित निकायमा प्रभावकारी पहल गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आन्दोलनरत एक कर्मचारीले भने, ‘हाम्रो निकायले अर्थसँग समन्वयकारी भूमिका निर्वाह गर्न सकेन । अन्य नियामक निकाय सेबोन र राष्ट्र बैंकले सक्रिय भूमिका खेल्दा उनीहरूले उचित सेवा–सुविधा पाइरहेका छन् । तर, हामी जहिले पनि कम सेवा–सुविधामा काम गर्न बाध्य भएका छौं । सम्बन्धित निकायलाई दबाब दिन नै यो आन्दोलन गरिएको हो ।’

बीमा प्राधिकरणका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको भए पनि स्वीकृत बजेट भने १५ लाख रुपैयाँमा सीमित भएको छ । बजेट तथा सेवा–सुविधासम्बन्धी निर्णयमा आएको संकुचनका कारण कर्मचारीले पाउँदै आएको सवारी सुविधासमेत कटौती गरिएको उनीहरूको भनाइ छ । बुधबारदेखि नै सवारी सुविधा रोकिएपछि कर्मचारीहरू थप आक्रोशित बनेका छन् ।
उनीहरूले अन्य नियामक निकायका कर्मचारीले सेवा–सुविधा विस्तार गर्दै लगेका बेला बीमा प्राधिकरणमा भने कर्मचारीले पाउँदै आएको सीमित सुविधा पनि कटौती हुनु विभेदपूर्ण भएको बताएका छन् । महँगी निरन्तर बढिरहेको अवस्थामा न्यून सेवा–सुविधामा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै कर्मचारीहरूले आफ्नो मागलाई केवल व्यक्तिगत सुविधासँग जोडेर हेर्न नहुने बताएका छन् ।

कर्मचारीहरूले प्राधिकरण माथिल्लो तहको संस्थागत कार्यसम्पादन माथि समेत प्रश्न उठाएका छन् । उनीहरूका अनुसार नेतृत्व तहले अर्थ मन्त्रालयलगायत सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्न नसक्दा कर्मचारी मात्र नभई समग्र बीमा क्षेत्रसमेत प्रभावित भइरहेको छ । प्राधिकरणको नेतृत्वले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च पदाधिकारीसँग समेत अपेक्षित समन्वय गर्न नसकेको कर्मचारीहरूको दाबी छ । आन्दोलनरत अर्का कर्मचारीले भने, ‘हाम्रो सेवा–सुविधाको कुरा मात्रै होइन । बीमा प्राधिकरणका उच्च तहले अर्थ मन्त्रालयसँग प्रभावकारी रूपमा लबिङ गर्न नसक्दा आज बीमा कम्पनीहरू समेत रुष्ट छन् । माथिल्लो तहले बीमा कम्पनीका सीईओसहित उच्च पदाधिकारीसँग समेत समन्वयकारी भूमिका निर्वाह गर्न सकेको छैन । प्राधिकरणकै माथिल्लो तहको सुस्त कार्यक्षमताले आज हामी प्रभावित भएका छौं । हाम्रो माग पूरा नभएसम्म हामीले यो आन्दोलन जारी राख्नेछौं ।’

कर्मचारीहरूले प्राधिकरणको नेतृत्व तहको कमजोर समन्वयका कारण नियामक निकायको प्रभावकारितामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताएका छन् । महँगी बढिरहेको अवस्थामा आफूहरूले न्यून सेवा–सुविधामा काम गर्नुपरेको भन्दै आन्दोलनमा प्राधिकरणका सबै कर्मचारीको समर्थन रहेको उनीहरूको दाबी छ । कर्मचारीहरूले कार्यालय समयमै धर्ना दिने, उच्च पदाधिकारीसँग छलफल गर्ने र आफ्ना मागका विषयमा सम्बन्धित निकायलाई दबाब दिने कार्यक्रम अघि बढाएका छन् ।
सोही क्रममा आन्दोलनरत कर्मचारीहरूले बुधबार प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीसँग समेत छलफल गरेका छन् ।

कर्मचारीहरूले आफ्नो आन्दोलन तत्काल कुनै व्यक्तिगत लाभका लागि नभई संस्थागत रूपमा समान सेवा–सुविधा सुनिश्चित गर्न र प्राधिकरणको नेतृत्वलाई सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्न दबाब दिने उद्देश्यले गरिएको बताएका छन् ।












