बीमा कम्पनीले इन्सेन्टिभ कटौती गरेपछि अभिकर्ता संघ पुग्यो प्राधिकरण

काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई प्रदान गर्दै आएको प्रोत्साहन (इन्सेन्टिभ) रकम कटौती गर्न थालेपछि पेशागत बीमा अभिकर्ता संघ नेपालले उक्त व्यवस्था तत्काल रोक्न माग गर्दै नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षण गराएको छ।
नेपाल लाइफ र एलआईसी नेपालबाहेक अधिकांश जीवन बीमा कम्पनीहरूले अभिकर्ताले पाउँदै आएको इन्सेन्टिभ रकम कटौती गरेको भन्दै संघले प्राधिकरणसमक्ष गुनासो गरेको हो। संघले कम्पनीहरूलाई नियमानुसार इन्सेन्टिभ रकम उपलब्ध गराउन निर्देशन दिन प्राधिकरणसँग आग्रह गरेको छ।
पेशागत बीमा अभिकर्ता संघ नेपालले प्राधिकरणलाई पठाएको पत्रमा बीमा नियमावली, २०८१ को नियम ५७ तथा अनुसूचीमा उल्लेखित व्यवस्थाअनुसार अभिकर्तालाई प्रोत्साहन रकम उपलब्ध गराउन माग गरेको छ।
संघका अनुसार जीवन बीमा व्यवसायको विस्तारमा अभिकर्ताहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ। व्यवसाय प्रवद्र्धन तथा अभिकर्तालाई प्रोत्साहित गर्न प्रचलित कानुनी व्यवस्थाअनुसार अतिरिक्त सुविधा उपलब्ध गराइनुपर्ने संघको माग छ।
संघले प्रोत्साहन रकमसम्बन्धी व्यवस्था कार्यान्वयनमा आवश्यक सहजीकरण गरिदिन पनि प्राधिकरणसमक्ष आग्रह गरेको छ। साथै, जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई नियमानुसार इन्सेन्टिभ उपलब्ध गराउने वातावरण बनाउन आवश्यक निर्देशन जारी गर्न संघले माग गरेको छ।
नियमावलीअनुसार इन्सेन्टिभ उपलब्ध गराउन माग
संघले प्राधिकरणलाई पठाएको पत्रमा बीमा नियमावली, २०८१ को परिच्छेद १०, दफा ४४ अन्तर्गतको व्यवस्थाअनुसार इन्सेन्टिभ रकम उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ।
संघका अनुसार नियमावलीमा व्यवस्था भएबमोजिम कमिशन रकमका अतिरिक्त जीवन बीमाको प्रथम बीमा शुल्कका आधारमा प्रत्येक अभिकर्तालाई प्राधिकरणले निर्धारण गरेको सीमाभित्र रही प्रोत्साहन ९इन्सेन्टिभ० रकम उपलब्ध गराउन सकिने व्यवस्था छ।
यस्तो इन्सेन्टिभ रकम अभिकर्तामार्फत जारी भएका बीमालेख तथा व्यवसाय वृद्धिका आधारमा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका लागि सबै बीमकलाई आवश्यक निर्देशन तथा सहजीकरण गरिदिन संघले प्राधिकरणसँग अनुरोध गरेको छ।
संघले नियमावली लागू भएको मितिदेखि उक्त व्यवस्थाअनुसार अभिकर्तालाई इन्सेन्टिभ उपलब्ध गराउने व्यवस्था स्पष्ट रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।
बीमा कम्पनीहरूले व्यवसाय वृद्धिका लागि अपनाएका रणनीति तथा अभिकर्ताको व्यवसायिक योगदानका आधारमा प्राधिकरणले तोकेको सीमाभित्र रही इन्सेन्टिभ उपलब्ध गराउन सक्ने भएकाले सोहीअनुसार बीमकहरूलाई आवश्यक निर्देशन दिन संघले आग्रह गरेको छ।
संघको मागअनुसार प्राधिकरणले आवश्यक निर्णय लिएमा जीवन बीमा कम्पनी र अभिकर्ताबीच इन्सेन्टिभ रकमसम्बन्धी देखिएको विवाद समाधान हुने अपेक्षा गरिएको छ।










