माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभाले शेयरधनीलाई २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारणसभा आज शुक्रबार (कात्तिक २० गते) काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पूँजीको २० प्रतिशतका दरले ६२ करोड ४६ लाख ५१ हजार ७७० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत अर्थात् ३ करोड २८ लाख ७६ हजार ४०९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण र नाफा–नोक्सान तथा नगद प्रवाह विवरणसमेत पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।
सभाले कम्पनीका पाँच जना सञ्चालक निर्वाचित गर्ने प्रस्तावसमेत पारित गरेको छ। यसैगरी सम्बन्धित निकायबाट आवश्यक संशोधन गर्न निर्देशन वा सुझाव आएमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ।











