आजदेखि सुरु हुँदै नेपाली कांग्रेसको १५औँ महाधिवेशन

१८ आश्विन २०८३, आईतवार १०:०४

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ । उद्घाटनपछि सोमबारदेखि बन्दसत्र सुरु हुनेछ ।

महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट गरी सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । उद्घाटन समारोहमा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

यसपटकको महाधिवेशनमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको भने सहभागिता छैन । देउवा समूहको सहभागिता नरहेकाले महाधिवेशनमा नेतृत्व चयन र आगामी राजनीतिक दिशाबारे थप चासो बढेको छ ।

महाधिवेशन सुरु भएसँगै कांग्रेसमा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि तीव्र बनेको छ । कांग्रेस नेता गोविन्द भट्टराईले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वपार्टी केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले पार्टीलाई बलियो र एकताबद्ध बनाउन नेतृत्व आवश्यक रहेको भन्दै उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।

यसैबीच, महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेता–कार्यकर्ताका सवारीसाधन व्यवस्थापनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । धरहरा भूमिगत पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क, भृकुटीमण्डपको बाहिरी एक लेन, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान परिसर र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थलमा सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकाबाहिरबाट प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागमा पार्किङको व्यवस्था मिलाइएको यातायात व्यवस्थापन समितिले जनाएको छ । यसका लागि ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरिएको छ ।

धरहरा भूमिगत पार्किङ र अन्नपूर्ण होटलको पार्किङमा शुल्क लाग्नेछ भने अन्य तोकिएका स्थानमा निःशुल्क पार्किङ गर्न सकिनेछ । कांग्रेसले महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेता–कार्यकर्तालाई तोकिएका स्थानमै सवारीसाधन पार्किङ गर्न आग्रह गरेको छ ।

महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*