सरकारी अनलाइन ठेक्का प्रणाली ह्याक गरेर ठेक्का हत्याउने नौ ठेकेदार पक्राउ

काठमाडौँ । सरकारको अनलाइन ठेक्का प्रणाली नै ह्याक गरेर ठेक्का हत्याउँदै आएका नौ निर्माण व्यवसायी पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो।
सिआइबीले यसअघि गत चैतमा यही प्रकरणमा ठेकेदार र ह्याकरसहित २२ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। दोस्रो चरणको अनुसन्धानका क्रममा थप नौ निर्माण व्यवसायी पक्राउ परेका हुन्।
सिआइबीका प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार अनलाइन ठेक्का प्रणालीमा ह्याकिङ गर्ने केही व्यक्तिलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा ठेक्काको प्रस्ताव पेस गर्ने समय सकिएपछि प्रतिस्पर्धी सबैको आर्थिक प्रस्ताव हेर्ने र त्यसपछि आफ्नो प्रस्ताव संशोधन गरी ठेक्का हात पार्ने गरेको खुलेको छ। यसका लागि निर्माण व्यवसायीहरूले विदेशमा रहेका ह्याकरको समेत सहयोग लिने गरेको पाइएको छ।
यसअघि भएको अनुसन्धानमा ह्याकरलाई क्रिप्टो करेन्सीमार्फत भुक्तानी तथा लगानी गर्ने गरेको समेत खुलेको थियो।
सहरी विकास मन्त्रालयका कम्प्युटर अपरेटर दिवाकर देउजा यो प्रकरणका मुख्य योजनाकार रहेको सिआइबीको अनुसन्धानबाट खुलेको थियो। उनी हाल कारागारमा छन्।











