भक्तपुरको कवाडी गोदाममा आगलागी, ५० लाख रुपैयाँ बराबरको क्षति
१९ आश्विन २०८३, सोमबार ११:११

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित कवाडी गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान करिब साढे ६ बजे कपाली टोलमा रहेको बीके सप्लायर्सको कवाडी गोदाममा आगलागी भएको थियो ।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्कीले बताए । उनका अनुसार आगलागीबाट कवाडी गोदाममा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।
गोदामसँगै जोडिएको दिनेश मचामसीको घरको ट्रस्टको संरचनामा समेत आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट कुल ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
प्रहरीका अनुसार विद्युत्को तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।











