स्वास्थ्य बीमा बोर्डद्वारा नवीनतम प्रविधिसहितको अद्यावधिक बीमा व्यवस्थापन सूचना प्रणाली सञ्चालन

६ मंसिर २०८३, आईतवार १२:१२

काठमाडौँ ।  स्वास्थ्य बीमा बोर्डले नवीनतम प्रविधिसहितको अद्यावधिक बीमा व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले बोर्डले आधुनिक प्रविधि र नयाँ आर्किटेक्चरमा आधारित प्रणाली सञ्चालनमा ल्याएको हो।

अद्यावधिक प्रणालीले स्वास्थ्य सेवा प्रदायकबाट प्राप्त उपचारसम्बन्धी दाबीको छिटो र प्रभावकारी रूपमा रुजु तथा मूल्याङ्कन गर्न सहयोग पुग्ने बोर्डले जनाएको छ। यस प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्ध गरिएको छ, जसले बीमितको विवरणको वैधता परीक्षण तथा तथ्याङ्कको गुणस्तर अभिवृद्धिमा सहयोग गर्नेछ। साथै, दाबीमा हुन सक्ने त्रुटि तथा असामान्य विवरण पहिचान गर्न प्रणालीगत फ्ल्यागिङ, बीमितको अभिलेख खोजी तथा पहिचान र सेवा प्रदायकको अवस्थासम्बन्धी विवरण अनुगमन गर्ने सुविधा पनि समावेश गरिएको छ।

नयाँ प्रणालीले सूचना सुरक्षासँगै प्रणालीको गति, कार्यसम्पादन र विश्वसनीयता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। यसले आगामी दिनमा कृत्रिम बुद्धिमत्तामा आधारित प्रविधिको प्रयोग तथा विकासका लागि समेत आधार तयार गर्नेछ। स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल रूपान्तरण, सेवा प्रवाहमा सुधार र नागरिकमैत्री स्वास्थ्य बीमा प्रणाली विकासमा यसले थप योगदान पुर्‍याउने विश्वास बोर्डले लिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*