लुम्बिनी विकास बैंकको बदमासीः डेढ करोडको घर कौडीको मूल्यमा लिलामपछि हंगामा

काठमाडौँ । २०७७ सालमा बुटवलका दुई दम्पती दुर्गाबहादुर पौडेल र लक्ष्मी विष्ट पौडेलले ‘डिएल डिजाइनर’का नामबाट छापाखाना व्यवसाय सञ्चालन गर्न ४८ लाख रुपैयाँ ऋण लिए । लुम्बिनी विकास बैंकको देवीनगरस्थित शाखाबाट उनीहरूले बुटवल उपमहानगरपालिका–९, मिलनचोकस्थित घरजग्गा धितो राखेर कर्जा लिएका थिए ।
तर, ऋण लिएर व्यवसाय विस्तार गर्ने उनीहरूको योजना लामो समय टिक्न सकेन । केही समयमै विश्वभर फैलिएको कोरोना महामारीले व्यवसायलाई नराम्ररी प्रभावित गर्यो । छापाखाना व्यवसायमा मन्दी आयो, कारोबार ठप्पजस्तै भयो र नियमित रूपमा बैंकको साँवा–ब्याज तथा किस्ता तिर्ने अवस्था कमजोर बन्दै गयो । कोरोनाकै बीचमा जसो–तसो गरेर पौडेल दम्पतीले करिब १६ लाख रुपैयाँ बैंकलाई ब्याज तथा किस्ताबापत बुझाए । तर व्यवसायले गति लिन नसकेपछि बाँकी ऋणको साँवा–ब्याज तिर्न उनीहरूलाई थप कठिन हुँदै गयो । लक्ष्मी आफैलाई २ पटक कोरोना लाग्यो । बैंकबाट पटक–पटक ताकेता आउन थालेपछि अन्ततः ऋण चुक्ता गर्न आफ्नो घरजग्गा नै बिक्री गर्ने निष्कर्षमा पौडेल दम्पती पुगे ।
बैंकसँग पनि घरजग्गा बिक्री गरेर ऋण चुक्ता गर्ने विषयमा समझदारी बन्यो। तत्कालीन शाखा प्रमुख चन्द्रबहादुर सारूसँगको समन्वयमा घरजग्गा बिक्री गरी बैंकको रकम चुक्ता गर्ने तयारी अघि बढाइयो। घर बिक्रीका लागि खरिदकर्तासँग बैना गर्ने अवस्थासमेत बनेको थियो ।
तर, यहीबीच बैंकले ऋणीलाई जानकारी नै नदिई धितोमा राखिएको घरजग्गा लिलामी गरिदियो। लुम्बिनी विकास बैंकको बुटवल देवीनगर शाखाले बुटवल उपमहानगरपालिका–९, मिलनचोकस्थित दुर्गापथमा रहेको उक्त घरजग्गा ५३ लाख रुपैयाँमा लिलाम बिक्री गर्यो । बैंकबाट ४८ लाख रुपैयाँ ऋण लिँदा धितो सम्पत्तिको मूल्यांकन बैंक आफैँले ८१ लाख ९१ हजार रुपैयाँ गरेको थियो । तर, साँवा, ब्याज तथा अन्य रकम जोडिँदा बैंकले असुल गर्नुपर्ने रकम करिब ५८ लाख ३९ हजार रुपैयाँ पुगेको भन्दैं सो सम्पत्ति ५३ लाख रुपैयाँमै लिलाम गर्यो ।
यही मूल्य अन्तरले अहिले बैंकको लिलामी प्रक्रिया र त्यसमा संलग्न कर्मचारीको भूमिकामाथि प्रश्न उठेको छ । लक्ष्मी विष्ट पौडेलका अनुसार धितो राखिएको सम्पत्तिको हालको चलनचल्तीको मूल्य कम्तीमा डेढ करोड रुपैयाँ हाराहारी पर्छ । घर बिक्री गरेर बैंकको ऋण चुक्ता गर्ने प्रयासका क्रममा आफूहरूले करिब १ करोड २५ लाख रुपैयाँमा घरजग्गा बिक्री गर्ने सहमतिसमेत गरिसकेको अवस्थामा बैंकले आफूलाई जानकारी नै नदिई सम्पत्ति लिलाम गरेको उनको आरोप छ ।
‘घरजग्गा बिक्री गरेर बैंकको ऋण चुक्ता गर्ने तयारीमा थिएँ । तर मलाई जानकारी नै नदिई सम्पत्ति लिलामी गरियो,’ लक्ष्मीले भनिन् । उनका अनुसार बैंकलाई तिर्नुपर्ने रकम जुटाउन आफूहरूले घर बिक्रीको बाटो रोजेका थिए । तर, बैंकले त्यसका लागि पर्याप्त समय नदिई वा आफूहरूसँगको समझदारीलाई बेवास्ता गर्दै लिलामी प्रक्रिया अघि बढाएको उनको आरोप छ ।
लिलामीबाट उक्त घरजग्गा सुर्खेत ठेगाना भएका गोविन्द लामिछानेले ५३ लाख रुपैयाँमा सकार गरेको बताइएको छ ।
तर, अहिले यही सम्पत्तिको मूल्यलाई लिएर विवाद चर्किएको छ । पूर्वघरधनी पौडेल परिवार मात्रै होइन स्थानीय टोलवासीले समेत मिलनचोक क्षेत्रमा ५३ लाख रुपैयाँमा तीन धुर जग्गासमेत पाउन कठिन हुने दाबी गरेका छन् । उनीहरूका अनुसार लिलाम भएको घरजग्गाको बजार मूल्य कम्तीमा डेढ करोड रुपैयाँ पुग्छ ।
पौडेल परिवारले बैंकले आफ्नो मूल्यांकनमै ८१ लाख ९१ हजार रुपैयाँ कायम गरेको सम्पत्ति अन्ततः ५३ लाख रुपैयाँमा लिलाम गर्नुले प्रक्रिया नै शंकास्पद देखिएको आरोप लगाएको छ । बैंकको आफ्नै मूल्यांकन र लिलामी मूल्यबीचको ठूलो अन्तरले बैंकका कर्मचारीको भूमिकामाथि समेत प्रश्न उठेको उनीहरूको भनाइ छ ।
लक्ष्मीले बैंकका बुटवल शाखा प्रमुख चन्द्रबहादुर सारूसँगको समन्वयमा घरजग्गा बिक्री गरेर ऋण चुक्ता गर्ने समझदारी भएको अवस्थामा आफूलाई जानकारी नदिई लिलामी गरिनु अन्याय भएको बताएकी छन् । बैंकका कर्मचारी र लिलामी सकार्ने व्यक्तिबीच मिलेमतो भएको हुनसक्ने आशंकासमेत उनले व्यक्त गरेकी छन् ।
यही विवादले अहिले बुटवलमा नयाँ रूप लिएको छ । घर लिलाम भएपछि पौडेल दम्पती दुवै जना मानसिक तनावमा परेको र अन्ततः अरूको घरमा शरण लिएर बस्न बाध्य भएको थाहा पाएपछि स्थानीय टोलवासी, नागरिक समाज तथा दुर्गा प्रसाईँ नेतृत्वको अभियानसँग जोडिएका स्थानीय व्यक्तिहरू समेत उनीहरूको पक्षमा उभिएका छन् ।
सोमबार स्थानीयवासीले पौडेल दम्पतीलाई लिलाम भइसकेको सोही घरमा पुनः प्रवेश गराएका छन् । बैंकले अन्यायपूर्ण ढंगले घर लिलाम गरेको भन्दै टोलवासी एकजुट भएर पूर्वघरधनीलाई घरमा फर्काएका हुन् । त्यसअघि स्थानीयवासीले देवीनगरस्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा ब्यानरसहित केहीबेर धर्नासमेत दिएका थिए ।
स्थानीयवासीको भनाइमा घर लिलाम गर्दा घरमा पर्याप्त सूचना टाँस नगरिएको र टोलवासीलाई समेत जानकारी नदिइएको आरोप छ । उनीहरूले बैंकले अत्यन्त न्यून मूल्यमा घरजग्गा लिलाम गरेको भन्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । ‘मिलनचोकमा ५३ लाख रुपैयाँमा तीन धुर जग्गासमेत पाइँदैन,’ स्थानीयको भनाइ छ, ‘डेढ करोड रुपैयाँसम्म मूल्य पर्ने सम्पत्ति ५३ लाखमा लिलाम हुनु आफैँमा गम्भीर प्रश्न हो ।’
स्थानीयवासीले घर लिलाम सकार्ने गोविन्द लामिछानेको लगानी सुरक्षित हुने गरी उनको पैसा फिर्ता गर्ने व्यवस्था मिलाएर पौडेल दम्पतीलाई घरमा पुनः प्रवेश गराएको बताएका छन् । उनीहरूका अनुसार लिलाम सकार्ने व्यक्तिको रकम फिर्ता गर्ने र वास्तविक घरधनीलाई घरबाट विस्थापित हुन नदिने उद्देश्यले यस्तो कदम चालिएको हो ।
यता, बैंकले भने पौडेल परिवारका आरोप अस्वीकार गरेको छ । लुम्बिनी विकास बैंकका बुटवल शाखा प्रमुख चन्द्रबहादुर सारूले ऋणीलाई लिलामी प्रक्रियाबारे पटक–पटक जानकारी गराइएको दाबी गरेका छन् ।
घर बिक्री गरेर ऋण चुक्ता गर्ने तयारी हुँदाहुँदै सम्पत्ति अस्वाभाविक रूपमा कम मूल्यमा लिलाम कसरी भयो ? बैंकप्रति गम्भीर नैतिक प्रश्न उठेको छ ।











