सन नेपाल लाइफको ५२ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५२ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्न कम्पनीमा निवेदन दिएपछि बिक्री प्रक्रिया अघि बढाइएको हो।
नेपाल बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ अनुसार बिक्री गरिने भएकाले हाल कायम संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मिति (असोज २२ गते) ले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर कम्पनीको कर्पोरेट कार्यालय, पुतलीसडक, काठमाडौंमा निवेदन दिनुपर्नेछ।
बिक्री हुने शेयरको मूल्य प्रचलित मूल्यभन्दा कम नहुने गरी विक्रेताले तोक्नेछ। प्रतिकित्ता मूल्यबारे जानकारी कम्पनीको कानुन विभागबाट लिन सकिने कम्पनीले जनाएको छ। तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।











