सामान विदेश पठाउन २० हजार घुस लिने हुलाकका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालयको पार्सल शाखा, डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सेवाग्राहीको सामान विदेश पठाइदिने भन्दै २० हजार रुपैयाँ घुस लिएको अभियोगमा बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
सेवाग्राहीको सामान हुलाकमार्फत विदेश पठाउने क्रममा घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले रिजाललाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगले गरेको अनुसन्धानका क्रममा रिजालले आफ्नो पद र ओहदाको दुरुपयोग गर्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाई बार्गेनिङ गरेको पाइएको जनाएको छ । अनुसन्धानबाट सामान विदेश पठाउनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै आयोगले २० हजार रुपैयाँ बिगो कायम गरेको छ । उक्त कसुरमा ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।











