शनिबारसम्म होल्डिङ सेन्टर छाड्न सुकुम्बासीलाई सरकारको निर्देशन

काठमाडौँ । काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट हटाएर भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई सरकारले शनिबारसम्म स्थान खाली गर्न निर्देशन दिएको छ । सरकारले वैकल्पिक व्यवस्थापनको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट समेत हटाउन खोजेपछि आश्रयविहीन बनेका परिवारको बिचल्ली हुने चिन्ता बढेको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको टोलीले बुधबार कृषि विकास बैंकको तालिम केन्द्रमा सूचना टाँस गर्दै होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो । प्रशासनले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरणका आधारमा सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको पाइएको जनाएको छ । जग्गा भएको पुष्टि भएका ती सात परिवार भूमिहीन नरहने भन्दै तत्काल स्थान खाली गर्न भनिएको छ ।
प्रशासनले भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख उल्लेख गर्दै जग्गा भएका परिवारलाई होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो । तर, जग्गा भएको विवरणकै आधारमा परिवारलाई तत्कालै हटाउने निर्णयले उनीहरूको वास्तविक आवासीय अवस्था र बसोबासको व्यवस्थाबारे प्रश्न उठाएको छ ।
त्यस्तै, जग्गा नभएका १२ परिवारका लागि सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको र त्यसको निस्सासमेत प्राप्त भएको प्रशासनले जनाएको छ । उनीहरूलाई जग्गा उपलब्ध गराउने प्रक्रियासम्बन्धी निस्सा लिन र सरकारले उपलब्ध गराएको घरभाडा सुविधा बुझ्न आग्रह गरिएको छ ।












