बुढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण सुरु, कार्यालय भवन र पुलको शिलान्यास

काठमाडौँ । १२०० मेगावाट क्षमताको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । आयोजनाको निर्माण तथा व्यवस्थापनका लागि आवश्यक प्रशासनिक तथा आवास भवन र पक्की पुल निर्माणको काम शिलान्याससँगै सुरु भएको हो ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले गोरखाको गण्डकी गाउँपालिका–स्थित घ्याल्चोकको सिउरेनीटारमा आयोजित विशेष समारोहबीच बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका हुन् । शिलान्याससँगै आयोजना कार्यान्वयनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणले गति लिने अपेक्षा गरिएको छ ।
जलाशययुक्त प्रकृतिको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मुलुकको विद्युत् उत्पादन क्षमता वृद्धि हुनुका साथै ऊर्जा आपूर्तिलाई थप भरपर्दो र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।











