सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न बीमा प्राधिकरणका अध्यक्षको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष राजन विक्रम थापाले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न बीमा क्षेत्रलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘डिसेमिनेसन अफ की एनआरए एन्ड एसआरए फाइन्डिङ्स’ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी परिपालनालाई केवल नियामकीय दायित्वका रूपमा नभई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
उनले संस्थागत जोखिम मूल्याङ्कन अद्यावधिक गर्ने, कार्यान्वयन अधिकृतलाई आवश्यक स्वतन्त्रता तथा स्रोतसाधन उपलब्ध गराउने, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, वास्तविक धनीको पहिचान गर्ने तथा गुणस्तरीय शङ्कास्पद कारोबार प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउने कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
नेपाललाई ग्रे लिस्ट सूचीबाट बाहिर निकाल्न सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । उनले राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्याङ्कनमार्फत जोखिम पहिचान गरिसकेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्दै संस्थागत सुशासनलाई प्रभावकारी बनाउन बीमकका सञ्चालक समिति तथा उच्च व्यवस्थापन जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले स्वागत मन्तव्य राख्दै नेपाललाई वित्तीय कारबाही कार्यदलको उच्च निगरानी सूचीबाट बाहिर निकाल्न बीमा क्षेत्रको क्षेत्रगत जोखिम मूल्याङ्कनका निष्कर्ष सरोकारवाला तथा सूचक संस्थाहरूसम्म पुर्याउनु महत्त्वपूर्ण रहेको बताए । उनले सम्पत्ति शुद्धीकरण निवारणलाई संस्थागत सुशासन र प्रतिष्ठासँग जोड्दै सञ्चालक समिति तथा प्रमुख कार्यकारी तहबाटै प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाले नेपाललाई ग्रे लिस्ट सूचीबाट बाहिर निकाल्न सन् २०२७ जनवरीसम्म तोकिएको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । राष्ट्रिय जोखिम मूल्याङ्कन २०२६ ले सम्पत्ति शुद्धीकरणसम्बन्धी समग्र जोखिम मध्यम उच्च देखाएको सन्दर्भमा अन्तरनिकाय समन्वय, सूचना आदानप्रदान तथा संयुक्त निरीक्षणलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
बीमकको सम्पत्ति शुद्धीकरण निवारण उपसमितिका संयोजक तथा सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको कार्यक्रममा अर्थ मन्त्रालयको आर्थिक नीति तथा विश्लेषण महाशाखाका सहसचिव देवराज जोशी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकाल, वित्तीय जानकारी इकाइका प्रमुख वासुदेव भट्टराईलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा तीनवटा कार्यपत्र प्रस्तुत गरिएका थिए । प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा क्षेत्रगत जोखिम मूल्याङ्कनका प्रमुख निष्कर्ष प्रस्तुत गरेका थिए भने सम्पत्ति शुद्धीकरणसम्बन्धी विज्ञ एवं नेपाल राष्ट्र बैंकका निर्देशक हरिकुमार नेपालले राष्ट्रिय जोखिम मूल्याङ्कनका मुख्य निष्कर्षबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए । त्यसैगरी, वित्तीय जानकारी इकाइका प्रतिनिधि कमल पौडेलले गो एमएल प्रणालीमार्फत पेस गरिने प्रतिवेदनका विषयमा स्पष्ट पारेका थिए ।
कार्यक्रमको प्रश्नोत्तर तथा अन्तरक्रिया सत्रमा नेपाल राष्ट्र बैंकका निर्देशक हरिकुमार नेपाल, वित्तीय जानकारी इकाइका प्रमुख वासुदेव भट्टराई, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकाल तथा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी प्यानलिस्टका रूपमा सहभागी भएका थिए । उक्त छलफलको सहजीकरण प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले गरेका थिए ।











