एनआईसी एशिया क्यापिटलद्वारा पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा पोखराको त्रिवेणी इन्टरनेसनल कलेजमा मुद्रा बजार तथा पुँजी बजारसम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कास्कीको पोखरा महानगरपालिका–३०, तालचोकस्थित कलेजमा शुक्रबार आयोजित कार्यक्रममा १०० भन्दा बढी विद्यार्थी, प्राध्यापक तथा कर्मचारी सहभागी थिए।
कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले विद्यार्थीलाई बचत गर्ने तरिका र थोरै रकमबाट पनि लगानी सुरु गर्न सकिने विषयमा जानकारी दिए। उनले प्राथमिक तथा दोस्रो बजार, मुद्रा बजारका उपकरण, सामूहिक लगानी कोष र नियमित लगानी योजना (एसआईपी) बारे पनि बताए।
त्यसैगरी शेयर बजारमा सूचीकृत कम्पनीमा लगानी गर्दा ध्यान दिनुपर्ने विषय, लगानीसम्बन्धी निर्णय लिने तरिका र पुँजी बजारको पछिल्लो अवस्थाबारे जानकारी दिइएको थियो।
‘आफ्नो भविष्यमा लगानी गरौँ, आजै त्यसको सुरक्षा गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा लगानी गर्दा अपनाउनुपर्ने सावधानी, डिजिटल ठगीबाट बच्ने उपाय र युवा लगानीकर्ताको भूमिकाबारे पनि छलफल गरिएको क्यापिटलले जनाएको छ। एनआईसी एशिया क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता बढाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।











