नबिल बैंकका यी पाँच शाखाबाट पाइन्छ नयाँ नोट

काठमाडौं । बडा दशैं २०८३ को अवसरमा नबिल बैंकले सर्वसाधारणका लागि साना दरका नयाँ तथा सुकिला नोट सटही र वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकमार्फत नोट वितरण गर्ने व्यवस्था बमोजिम नबिल बैंकले आफ्ना पाँच शाखाबाट यस्तो सेवा उपलब्ध गराउन लागेको हो ।
बैंकका अनुसार काठमाडौंको कान्तिपथ, बल्खु र बनस्थली शाखा तथा ललितपुरको च्यासल र भक्तपुरको दुवाकोट शाखाबाट नयाँ तथा सुकिला नोट सटही गर्न सकिनेछ ।
बैंकले आगामी असोज २७ गतेदेखि २९ गतेसम्म तीन दिन नोट सटही तथा वितरण गर्ने जनाएको छ । उक्त अवधिमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मात्र सेवा उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।
दशैंमा टीका लगाउँदा दक्षिणा दिन तथा अन्य धार्मिक र सांस्कृतिक परम्परामा साना दरका नोटको माग बढ्ने भएकाले सर्वसाधारणको सुविधाका लागि यस्तो व्यवस्था गरिएको हो । बैंकले तोकिएका शाखाबाट निर्धारित मिति र समयमा सेवा लिन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।











