सुरु भयो विश्व बैंक–आईएमएफको वार्षिक बैठक, रोजगारी र विश्व अर्थतन्त्रको स्थायित्वमा जोड

दिपक बिष्ट
२६ आश्विन २०८३, सोमबार १९:१५

काठमाडौं/बैंकक । थाईल्याण्डको राजधानी बैंककमा विश्व अर्थतन्त्रको दिशा, वित्तीय स्थायित्व र विकासका भावी रणनीतिमाथि गहन छलफल गर्ने एजेण्डासहित अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको संयुक्त वार्षिक बैठक आजदेखि सुरु भएको छ । अक्टोबर १८ सम्म सञ्चालन हुने बैठकमा नेपालसहित विश्वका १९१ मुलुकका १५ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय मञ्चका रूपमा रहेको उक्त बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

राजधानी बैंककस्थित क्वीन सिरिकिट राष्ट्रिय सम्मेलन केन्द्र (क्यूएसएनसीसी) मा आयोजना भइरहेको बैठकमा १९१ देशका अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर, आर्थिक नीतिनिर्माता, निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाज तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरू सहभागी हुँदैछन् । विश्व अर्थतन्त्रको अवस्था, आर्थिक वृद्धिदर, रोजगारी सिर्जना, जलवायु परिवर्तन, सार्वजनिक ऋण र प्रविधिको बढ्दो प्रभाव यस पटकको बार्षिक बैठकमा छलफल हुँदैछ ।

सन् १९९१ पछि दोस्रोपटक वार्षिक बैठकको आयोजना गरिरहेको थाइल्यान्डले यस वर्ष ‘थाइल्यान्ड्स न्यु होराइजन्सः इम्पावरिङ पिपुल, बिल्डिङ रिजिलियन्स’ अर्थात् ‘नयाँ क्षितिजः जनसशक्तीकरण र आर्थिक उत्थानशीलताको निर्माण’ भन्ने मूल भावलाई अघि सारेको छ । यसको उद्देश्य बदलिँदो विश्व परिवेशमा जनताको क्षमता अभिवृद्धि गर्ने, आर्थिक तथा वित्तीय प्रणालीलाई बलियो बनाउने र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने रहेको छ ।

यस वर्षको बैठकको प्रमुख आकर्षणमध्ये ‘स्मल एआई, बिग जब्स’ अर्थात् सानो स्तरको कृत्रिम बुद्धिमत्ता प्रविधिबाट ठूलो रोजगारी सिर्जना गर्ने सम्भावनादेखि विश्वभरका साना तथा मझौला उद्योगको स्तरोन्नतीबारे छलफल हुनेछ । उद्घाटन सत्रको दिन आज अक्टोबर १२ मा निर्धारित यस सत्रले विशेषगरी साना तथा मझौला व्यवसायमा एआईको प्रयोग, उत्पादकत्व वृद्धि र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकता दिएको छ ।

विश्व बैंक समूहले अक्टोबर १४ मा ‘मोबिलाइजिङ प्राइभेट क्यापिटल फर जब्स’ अर्थात् रोजगारी सिर्जनाका लागि निजी पुँजी परिचालनसम्बन्धी विशेष कार्यक्रम आयोजना हुदैछ । विकासशील अर्थतन्त्रमा पूर्वाधार निर्माण, उद्योग विस्तार, ऊर्जा, कृषि, पर्यटन र डिजिटल सेवाका क्षेत्रमा आवश्यक लगानी जुटाउन सरकारको बजेट तथा परम्परागत वैदेशिक सहायतामात्र पर्याप्त नहुने अवस्थामा निजी क्षेत्रको सहभागिता महत्त्वपूर्ण मानिन्छ ।

राजधानी बैंककमा आयोजित भव्य र ऐतिहासिक बार्षिक बैठकमा निजी लगानीलाई आकर्षित गर्ने नीतिगत वातावरण, सार्वजनिक–निजी साझेदारी, लगानीसम्बन्धी जोखिम न्यूनीकरण तथा रोजगारी सिर्जनामा लगानीको प्रभावकारिता बढाउने विषयमा छलफल हुनेछ ।

यस पटकको बैठकमा जलवायु परिवर्तनको प्रभाव, प्राकृतिक विपद् र वातावरणीय जोखिमले विकासशील अर्थतन्त्रमा थप वित्तीय दबाब सिर्जना गरिरहेको बिषयमाथि पनि छलफल हुनेछ । नेपालजस्ता भौगोलिक जोखिम भएका मुलुकका लागि जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, जलविद्युत् तथा पूर्वाधारको सुरक्षा र दिगो विकासका लागि पर्याप्त वित्तीय स्रोत जुटाउनु विशेष महत्त्वको विषय भएपनि नेपालले आवश्यक तयारी नगरेका कारण फलदायी नतिजा हात पार्न सक्ने अवस्था छैन । नेपालले जलवायु वित्तको उपलब्धता, सहुलियतपूर्ण ऋण, अनुदान तथा अन्तर्राष्ट्रिय विकास सहयोगलाई प्रभावकारी बनाउने विषय उठाउन खोजे पनि नतिजा हात पार्न आवश्यक तयारी नगरेकोले सम्भव नहुने भएको हो ।

सन् २०२६ को बार्षिक बैठकमा विश्व अर्थतन्त्रले सामना गरिरहेको अर्को चुनौती सार्वजनिक ऋणको बढ्दो भार र ऋणको लागतमाथि गहन छलफल हुनेछ । जुन विश्वका धनी देशहरुको चासोको बिषय हो । उच्च ब्याजदर, अन्तर्राष्ट्रिय बजारमा वित्तीय उतारचढाव, ऊर्जा मूल्यमा हुने परिवर्तन र भू–राजनीतिक तनावले सरकार तथा निजी क्षेत्रको लगानी निर्णयमा प्रभाव पारेको र भविष्यमा पार्न सक्ने सम्भावनाहरुमाथि छलफल हुँदैछ ।

त्यसैगरी, बैठकमा विश्व अर्थतन्त्रको अवस्था, वित्तीय स्थायित्व, आर्थिक नीतिमा सहकार्य तथा विकासशील मुलुकको वित्तीय आवश्यकताबारे उच्चस्तरीय छलफल हुने कार्यक्रम छ ।
नेपालका लागि आईएमएफ र विश्व बैंकको वार्षिक बैठक सार्वजनिक ऋण व्यवस्थापन, जलवायु अनुकूलन, पूर्वाधार लगानी, निजी क्षेत्रको विकास र डिजिटल अर्थतन्त्रसँग सम्बन्धित बिषयमाथि छलफल हुनसक्ने देखिएको छ । यद्यपि सरकारले कुनै औपचारिक जानकारी दिएको छैन ।

नेपालले जलविद्युत्, पर्यटन, कृषि आधुनिकीकरण, सडक तथा अन्य पूर्वाधार, डिजिटल सेवा र रोजगारी सिर्जनामा लगानी विस्तार गर्न साझेदारहरुसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।

साताव्यापी कार्यतालिका
अक्टोबर १२ः ‘स्मल एआई, बिग जब्स’ कार्यक्रमसहित वार्षिक बैठकका सार्वजनिक कार्यक्रम सुरु ।
अक्टोबर १२–१८ः नागरिक समाज नीति मञ्च, क्षेत्रीय आर्थिक प्रतिवेदनहरुमाथि छलफल, सेमिनार तथा विभिन्न सार्वजनिक र आमन्त्रित कार्यक्रम ।
अक्टोबर १४ः रोजगारी सिर्जनाका लागि निजी पुँजी परिचालनसम्बन्धी विशेष कार्यक्रम ।
अक्टोबर १५ः विकास समितिको बैठक तथा मन्त्रीस्तरीय कार्यक्रम।
अक्टोबर १६ः वार्षिक बैठकको औपचारिक पूर्ण सत्र ।
अक्टोबर १७ः अन्तर्राष्ट्रिय मौद्रिक तथा वित्तीय समिति (आईएमएफसी) को पूर्ण बैठक ।
अक्टोबर १८ः वार्षिक बैठकको अन्तिम दिन ।

-तस्विरः ड्याने फेरिया/दि मर्निङटेलिग्राफ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*