ट्राफिक प्रहरीद्वारा दशैं लक्षित असुली तीव्र, घर जाँदै गरेकाहरु खिन्न

३० आश्विन २०८३, शुक्रबार ०८:४८

काठमाडौं । बुधबार नबिल बैंकको केन्द्रीय कार्यालय दरवारमार्गको गेटमा दुई जना ट्राफिक प्रहरीहरु हातमा ह्वील लक लिएर लुकेर कुनामा बसिरहेका थिए, दशैंको दिन हतारमा रहेका सर्वसाधारण बैंक अगाडिको सडक खाली देखेर सडक किनारामै रोकेर बैंकभित्र छिरे पैसा साटेर बाहिर आउँदा ट्राफिक प्रहरीले ह्वील लक लगाइसकेको थियो । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक सेवाग्राहीले अक्क न बक्क हुँदै भने, ‘ट्राफिक प्रहरी आपराधिक मानसिकताबाट ग्रस्त छ, सामान्य मानवीयता समेत रहेनछ ।’

माथिको बुधबारको घटना एउटा प्रतिनिधि पात्र मात्रै हो । पछिल्लो एक सातादेखि बल्खु, कोटेश्वर, साँगा काभ्रे, थानकोटको नागढुंगा काठमाडौंबाट याुत्रहरु बाहिरिने सबै नाकाहरुमा ट्राफिक प्रहरीको यस्तै अमानवीय र असहिष्णु गतिविधिहरु भइरहेको देख्न सकिन्छ ।

मंगलबार काठमाडौंबाट चरिकोट तर्फ जाँदै गरेको एउटा बस काभ्रेको साँगामा रोकियो । छतमा दशैंमा घर हिडेकाहरुको झोला राखिएको थियो । छतमा झोला किन राखिस् भनेर चिट काट्न खोजिरहेका थिए । दशैंमा घर जाने र परिवारसँग चाड मनाउने भनेर खुशी हुँदै बसमा बसेकाहरु तल झरे, चाडपर्वमा असुली गर्न बाहना खोजिरहेका ट्राफिकसँग बिन्तिभाउ गरिरहेका थिए । ‘साँघुरा सडकमा गुड्न बनाइएका साँघुरा बसमा सिट पनि साँघुरा नै हुन्छन्, दशैंमा घर जाँदा रमाइलो गर्दै जाने भनेर छतमा लुगा, फलफलले भरिएका झोलाहरु राखिएको थियो, एउटा ट्राफिक आउँछ बेस्सरी कराउँछ, फेरि अर्को आउँछ फेरि कराउँछ, यही राज्यको जनताप्रतिको व्यवहार ?’ सुमन तामाङले प्रश्न गरे ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुरेश प्रसाद काफ्लेले सर्वसाधारणलाई दुःख दिने कुनै काम पनि नगर्न स्पष्ट निर्देशन दिइएको बताए । उनले काठमाडौंभित्र बसको छत चेकजाँच नगरिएको पनि स्पष्ट पारे । ‘मन्दिर नजिकै र बैंकको शाखा कार्यालय नजिकै सडकमा पार्किङ निषेध भएकोले ट्राफिक प्रहरी पुगेको होला, हामी हेर्छौं’ ट्राफिक प्रहरी प्रमुख काफ्लेले भने ।

त्यसो त, ट्राफिक प्रहरी प्रमुखको दावीमा विश्वास गर्ने आधार भने छैन । असुली धन्दालाई व्यापक बनाउन बल्खुमा सडक भन्दा बाहिर झाडी र पाखोमा राखिएको गाडीमा ह्वील लक गर्ने गरिएको छ (हेर्नुस तस्विर) ।

त्यस्तै, नबिल बैंकको मुख्य कार्यालय अगाडिको सडकमा एकैछिनका लागि भित्र गएका र हतारोमा भएकाहरुलाई ह्वील लक लगाएर असुली धन्दा चलाउनु पर्ने कुन बाध्यता छ थाहा छैन ।

सरकारको अनुमतिमा उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना र ट्राफिक प्रहरी केन्द्रीय कार्यालयले देशव्यापी दशैं असुली अभियान सुरु गरेको छ । यसको असर देशैभरि देखिएको छ । दशैंको समयमा घर जान लागेका यात्रुहरु चढेका गाडीहरु रोक्ने, कमजोरी खोज्दै चिट काट्ने र राजश्व असुली गर्ने अभियान सुरु गरेको छ । सरकारको राजश्व संकलनको लक्ष्य पुरा गर्न ट्राफिक प्रहरीले यस्तो अभियान चलाएको हो ।

महानगरीय ट्राफिक प्रहरीको ध्यान यतिबेला बैंक काउन्टर नजिकै, मन्दिरको ढोका ढोकामा छ, कतिबेला सर्वसाधारण आएर गाडी वा मोटरसाइकल रोक्छन् र चिट काटौला भनेर कुरिरहेका हुन्छन् । ट्राफिक प्रहरीको दायित्व दशैंको समयमा सुरक्षित यात्रा हो कि असुली धन्दा चलाउने समय प्रश्न उठेको छ ।

त्यसो त ट्राफिक प्रहरीमाथि आपराधिक सोच भएको, क्रूर र असहिष्णु बनेको आरोप बेला बेलामा लाग्दै आएको छ । ट्राफिक प्रहरीकै कारण त्रिपुरेश्वरमा दुई जनाले आत्महत्या गरिसकेका छन् । तर अझै पनि ट्राफिक प्रहरीलाई सुधार गर्ने पक्षमा सरकार देखिदैन । सडकमा ड्युटीमा खटिने ट्राफिक प्रहरी भन्ने वित्तिकै सर्वसाधारण त्रसित हुने अवस्था सिर्जना गर्ने, दशैं तिहार जस्ता चाडपर्वमा मन्दिरको ढोका, सडकको गल्छेडोमा असुली धन्दा चलाउने कार्यले राज्य र नागरिकका बीचको सम्बन्धमा दरार उत्पन्न गर्ने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका लागि केही योगदान बाहेक केही गर्दैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*