नेपालगञ्जमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न

३० आश्विन २०८३, शुक्रबार १२:३७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, शाखा कार्यालय नेपालगञ्जको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२, नहरपुरुवा, पुरैनीमा कृषि बीमा तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कृषक तथा पशुपन्छी पालकहरूलाई बीमाको महत्व, आवश्यकता र लाभबारे जानकारी गराउने तथा कृषि र पशुपन्छी क्षेत्रमा हुन सक्ने जोखिमबाट आर्थिक क्षति न्यूनीकरण गर्न बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

शाखा प्रमुख विवेक भण्डारीको संयोजनमा सम्पन्न कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ का कार्यवाहक वडा अध्यक्ष केशर राज राढ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा पशु प्राविधिकहरू कर्ण प्रिय राना, डिल्ली बहादुर खड्का र हिरालाल यादवसहित विभिन्न वडाका पशुपालक किसान तथा कृषि व्यवसायी गरी जम्मा ७२ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाको महत्व, सम्भावित जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरणमा बीमाको भूमिका तथा बीमा सेवाको उपयोगिताबारे जानकारी प्रदान गरिएको थियो। साथै, कृषकहरूलाई बीमाको पहुँचमा ल्याउन स्थानीय तह, पशु प्राविधिक तथा बीमा कम्पनीबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा जोड दिइएको थियो।

कृषि तथा पशुपन्छी बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्दै कृषकहरूलाई बीमा सेवामा आबद्ध हुन प्रोत्साहित गर्ने यस्ता कार्यक्रमले कृषि तथा पशुपन्छी बीमाको पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, शाखा कार्यालय नेपालगञ्जले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*