‘पुँजी बजारमा ब्रोकरको लगानीसम्बन्धी बन्देज हटाउनुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीले नेपालको पुँजी बजारको सुदृढीकरण, स्थायित्व र समृद्धिका लागि संस्थागत विकास तथा लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
स्टक ब्रोकर एसोसिएसनले आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत्को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै रेग्मीले पुँजी बजारको दिगो विकासका लागि आपसी विश्वास, पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको बताए ।
स्टक ब्रोकर एसोसिएसनका अध्यक्षसमेत रहेका रेग्मीले धितोपत्र व्यवसायसम्बन्धी नीतिमा ब्रोकरहरूको स्तरीकरण र संस्थागत विकासलाई प्राथमिकता दिने व्यवस्था स्वागतयोग्य रहेको उल्लेख गरे । संस्थाहरूको कर्पोरेट स्तरमा विकास नभएसम्म तिनको प्रभावकारिता बढ्न नसक्ने उनको भनाइ थियो ।
विगतमा व्यक्तिगत रूपमा सञ्चालन हुँदै आएको ब्रोकर व्यवसाय क्रमशः संस्थागत स्वरूपमा रूपान्तरण भएको र अहिले पुँजी वृद्धि गरी २० करोड तथा ६० करोड रुपैयाँको सीमामा पुग्ने प्रयास भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले व्यावसायिक सुधारका लागि स्टक ब्रोकर एसोसिएसनले ठोस पहल गर्नुपर्ने बताए ।
रेग्मीले ब्रोकर व्यवसायमा संलग्न व्यक्ति तथा संस्थालाई लगानी र स्वामित्वका विषयमा विभिन्न बन्देज लगाइएकोप्रति असन्तुष्टि जनाए । धितोपत्र व्यवसाय सञ्चालन गर्ने सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको तहमा नियमन आवश्यक भए पनि विशुद्ध लगानी वा स्वामित्व ग्रहण गर्ने तहमा लगाइएका प्रतिबन्धमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।
विनिवेशका क्रममा सम्भावित खरिदकर्तामाथि धेरै प्रतिबन्ध लगाइए बजारमा खरिदकर्ता पाउन कठिन हुने उल्लेख गर्दै उनले लगानीकर्तालाई अयोग्य ठहर गर्ने व्यवस्थाबारे विस्तृत अध्ययन गर्न स्टक ब्रोकर एसोसिएसनलाई सुझाव दिए ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टको विषयविज्ञता, नियामकीय अनुभव र निष्कलङ्क छविको प्रशंसा गर्दै रेग्मीले पुँजी बजारले उनीबाट ठूलो अपेक्षा राखेको बताए । अर्थ मन्त्रालय र नियामक निकायबीचको सुमधुर सम्बन्धले नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सहयोग पुग्ने उनको विश्वास थियो ।
उनले परम्परागत सेयर बजारसँगै ऋणपत्र बजार, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र एङ्कर इन्भेस्टरजस्ता नयाँ लगानीका माध्यम विकास गर्नुपर्नेमा जोड दिए । यस्ता माध्यमको विस्तारले नेपालको पुँजी बजारलाई थप विविधतायुक्त र प्रतिस्पर्धी बनाउन सक्ने उनले बताए ।
व्यावसायिक समस्याहरू सार्वजनिक मञ्चमा उठाउनुभन्दा सरकार तथा नियामक निकायसँग प्रत्यक्ष संवाद गरेर समाधान खोज्नु बढी प्रभावकारी हुने रेग्मीको धारणा थियो । विगतमा नियामक निकायसँग माग राख्दा पनि अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै उनले पछिल्लो समय नियामक नेतृत्वबाटै सुधारका काम अघि बढिरहेको बताए ।











