तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ। ७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समयअनुसार १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो। भूकम्पको गहिराइ जमिनको सतहबाट करिब १० किलोमिटर मात्रै रहेकाले त्यसको धक्का निकै शक्तिशाली महसुस गरिएको भूगर्भविद्हरूले बताएका छन्।
भूकम्पको केन्द्रविन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा रहेको नाग्छु क्षेत्रको बाकेन काउन्टीअन्तर्गत मरू गाउँपालिका आसपास रहेको बताइएको छ।
भूकम्पले प्रभावित क्षेत्रका बस्तीमा व्यापक क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार ३३९ भन्दा बढी घर पूर्ण रूपमा भत्किएका छन्। भूकम्पपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कसमेत प्रभावित भएको छ।
भौगोलिक रूपमा विकट र उच्च हिमाली क्षेत्रमा भूकम्प गएकाले उद्धार कार्यमा थप चुनौती देखिएको छ। भूकम्पपछि विभिन्न स्थानमा सुक्खा पहिरो खस्नुका साथै चट्टानहरू झरेपछि सडक मार्ग अवरुद्ध भएका छन्। यसका कारण उद्धार टोलीलाई प्रभावित बस्तीमा पुग्न कठिनाइ भइरहेको स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ।











