गुराँस लघुवित्तको साधारणसभा भोलि बस्दै, १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारणसभा भोलि कात्तिक १० गते मंगलबार बस्दैछ। धनकुटाको हिलेस्थित कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे सुरु हुने सभामा शेयरधनीलाई बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ।
संस्थाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ ११ पैसा बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव सभामा पेस हुनेछ।
त्यस्तै कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.५ प्रतिशत अर्थात् ६ लाख ६१ हजार ७९० रुपैयाँ २७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ। दुवै प्रस्ताव पारित भएमा शेयरधनीले बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश पाउनेछन्।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणसहितको वित्तीय विवरण पारित गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत छलफल हुनेछ।
यसैगरी बोनस शेयर जारी गरेपछि चुक्ता पुँजी बढ्ने भएकाले संस्थाको प्रबन्धपत्र संशोधन गर्ने तथा सञ्चालकहरूको दैनिक र भ्रमण भत्ता बढाउन नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ। साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २८ गते बूक क्लोज गरिसकेको छ।











