कर्जा प्रवाहमा आक्रामक वाणिज्य बैंक: तीन महिनामा दिए १ खर्ब ४१ अर्ब ऋण, प्रभुसहित तीन वटाको घट्यो

१२ कार्तिक २०८३, बिहीबार १३:१०

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १ खर्ब ४१ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत असार मसान्तमा ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेको २० वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह असोज मसान्तसम्म आइपुग्दा बढेर ५४ खर्ब ३० अर्ब ६८ करोड रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा १७ बैंकको कर्जा प्रवाह बढेको छ भने तीन बैंकको घटेको छ ।

सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ । असार मसान्तमा ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले असोज मसान्तसम्म ३० अर्ब ९७ करोड रुपैयाँ थप गर्दै कुल कर्जा ५ खर्ब ७ अर्ब ८१ करोड रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, नबिल बैंकले १६ अर्ब ४४ करोड रुपैयाँ कर्जा बढाएर ५ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ पुर्‍याएको छ । असार मसान्तमा यस बैंकको कर्जा प्रवाह ४ खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँ थियो । यी दुई बैंकले ५ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

कर्जा प्रवाहको आकारका आधारमा तेस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को कर्जा २ अर्ब ३९ करोड रुपैयाँले बढेर ३ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको कर्जा २ अर्ब ७२ करोड रुपैयाँले बढेर ३ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने लक्ष्मी सनराइज बैंकले १४ अर्ब ३४ करोड रुपैयाँ कर्जा थप गर्दै कुल कर्जा ३ खर्ब ३४ अर्ब ८० करोड रुपैयाँ पुर्‍याएको छ । कुमारी बैंकको कर्जा १८ अर्ब ९३ करोड रुपैयाँले बढेर ३ खर्ब २१ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, एनएमबी बैंकको कर्जा प्रवाह ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । नेपाल बैंकको कर्जा ७ अर्ब १ करोड रुपैयाँले बढेर २ खर्ब ६८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ भने हिमालयन बैंकको कर्जा ४ अर्ब ७८ करोड रुपैयाँले बढेर २ खर्ब ६१ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । सिद्धार्थ बैंकले ८ अर्ब ९४ करोड रुपैयाँ कर्जा थप गर्दै कुल कर्जा २ खर्ब ५७ अर्ब ९ करोड रुपैयाँ पुर्‍याएको छ । एभरेस्ट बैंकको कर्जा ८ अर्ब ६८ करोड रुपैयाँले बढेर २ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

कृषि विकास बैंकको कर्जा प्रवाह ४ अर्ब २ करोड रुपैयाँले बढेर २ खर्ब ४९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । प्राइम बैंकको कर्जा ६ अर्ब २४ करोड रुपैयाँले बढेर २ खर्ब ५० अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने प्रभु बैंकको कर्जा ४ अर्ब ९९ करोड रुपैयाँले घटेर २ खर्ब २७ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको कर्जा ४ अर्ब ६९ करोड रुपैयाँले घटेर २ खर्ब ६ अर्ब ४४ करोड रुपैयाँमा झरेको छ । सानिमा बैंकको कर्जा पनि १ अर्ब १ करोड रुपैयाँले घटेर २ खर्ब ५ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा कर्जा प्रवाह घट्ने यी तीन बैंक मात्रै हुन् ।

यता, सिटिजन्स बैंकको कर्जा ६ अर्ब १६ करोड रुपैयाँले बढेर १ खर्ब ८३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकको कर्जा ८ अर्ब ७ करोड रुपैयाँले बढेर १ खर्ब ७९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने नेपाल एसबीआई बैंकको कर्जा २ अर्ब ९८ करोड रुपैयाँले बढेर १ खर्ब ५६ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ । सूचीमा सबैभन्दा कम कर्जा प्रवाह गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा भने ९३ करोड रुपैयाँले बढेर ७१ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*