बागलुङका बाढीपहिरो प्रभावित ६ स्थानीय तहलाई २ करोड अनुदान

काठमाडौं । गत असोज ११ गतेको बाढीपहिरोबाट प्रभावित बागलुङका ६ स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा २ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ।
विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकालाई उक्त रकम तत्काल आवश्यक मर्मत तथा पुनःस्थापनाका काममा खर्च गर्न दिइएको हो। ताराखोला, बडिगाड, गलकोट र ढोरपाटनका सबै वडा तथा निसीखोलाका वडा नम्बर ४ र ६ एवं तमानखोलाका वडा नम्बर २ र ४ लाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
पूर्ण रूपमा सङ्कटग्रस्त घोषणा गरिएका पालिकाले ४० लाख रुपैयाँका दरले अनुदान पाएका छन् भने आंशिक रूपमा प्रभावित निसीखोला र तमानखोलाले २० लाख रुपैयाँका दरले रकम पाएका छन्। उक्त बाढीपहिरोमा परी बागलुङमा १३ जनाको मृत्यु भएको थियो। बाढीपहिरोले सडक, विद्यालय, निजी आवास तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको थियो।











