चक्रवात अर्णवको प्रभाव राजमार्गमा पनि, यी बाटोबाट यात्रा गर्न जोखिम

१२ कार्तिक २०८३, बिहीबार १४:२३

काठमाडौं । चक्रवात अर्णवको सम्भावित प्रभावका कारण देशका विभिन्न प्रमुख राजमार्गमा पहिरो, ढुङ्गा खस्ने र सडक भासिने जोखिम बढ्न सक्ने भन्दै सरकारले यात्रु तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। आगामी कात्तिक १२ देखि १५ गतेसम्म विशेषगरी पहाडी तथा भिराला सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने जनाइएको छ।

सम्भावित मौसमको प्रभावले नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। वर्षाका कारण नदीको जलसतह बढ्ने, सडक किनारमा कटान हुने तथा साना–ठूला खोला र कल्भर्टमा पानीको बहाव अचानक बढ्ने जोखिम छ। यसले सडकमा क्षति पुग्नुका साथै यातायात अवरुद्ध हुन सक्ने र अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित हुन सक्ने पूर्वानुमान छ।

पहिरोको जोखिमका दृष्टिले नारायणगढ–मुग्लिन, कोशी, सिद्धार्थ, कान्ति र अरनिको राजमार्गका संवेदनशील क्षेत्रलाई विशेष निगरानीमा राख्नुपर्ने बाढी पूर्वानुमान महाशाखा तथा भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले जनाएको छ। त्यस्तै बेँसीसहर–चामे, आरुघाट–लार्केभन्ज्याङ, वेत्रावती–धुन्चे, दोलखा–लामाबगर, राम्दी–दरबार, भिमाद–आरुङ्खोला, घुर्मीघाट–कावासोती, घुर्मी–चतरा–उदयपुर, धरान–हिले र दमक–रवि सडक खण्डमा पनि यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उल्लेख छ।

जोखिमको आकलन गर्दा सडकको भौगोलिक बनावट, माटोको अवस्था, भिरालोपन, वर्षाको मात्रा र विगतमा पहिरो गएको इतिहासलाई आधार मानिएको जनाइएको छ। कमजोर माटो, अत्यधिक भिरालो भूभाग, सक्रिय पहिरो रहेका क्षेत्र तथा नदी कटान भइरहेका स्थानमा भारी वर्षा हुँदा ठूलो पहिरो जान सक्ने र सडक लामो समयसम्म अवरुद्ध हुन सक्ने जोखिम रहने उल्लेख गरिएको छ।

सरकारले भारी वर्षा भइरहेका बेला अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भव भएसम्म यात्रा स्थगित गर्न आग्रह गरेको छ। यात्रा सुरु गर्नुअघि सम्बन्धित सडक कार्यालय वा ट्राफिक प्रहरीसँग सम्पर्क गरी सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन पनि सुझाव दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*