चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरः सरकार उच्च सतर्कतामा, वर्षा र हिमपातको जोखिम

काठमाडौँ । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ।
भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र केही हावाहुरीको सम्भावना भने यथावत् रहेको छ।
सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले ठाउँ(ठाउँमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन्। उता पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अध्यावधिक गरेर मात्र निर्णय लिन पर्यटक एवं पर्वतारोही टोलीहरूलाई आग्रह गरेका छन्।
हवाई सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न कडा निर्देशन दिएको छ।
यसैगरी विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले पनि आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणमा आह्वान गरेका छन्।
नागरिकलाई कुनै पनि प्रकारका भ्रामक अफवाहको पछि नलागी आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र मौसम पूर्वानुमानका आधारमा आवश्यक सजगता अपनाउँदै सुरक्षित रहन सरकारले विशेष अपिल गरेको छ।











