डिभी परेका अधिकांश नेपालीले भिसा पाएनन्, नोभेम्वर १ बाट खुल्ने डिभी भर्ने कि नभर्ने ?

१२ कार्तिक २०८३, बिहीबार १६:०४

काठमाडौं । अमेरिका जाने इच्छा बोकेका नेपालीका लागि इलेक्ट्रोनिक डाइभर्सिटी लोटरी भिसा (डिभी) कार्यक्रमको आवेदन यही नोभेम्वर १ बाट खुल्दैछ । तर उक्त चिठ्ठा भिषाको लागि आवेदन दिने कि नदिने भनेर नेपालमा अलमल सुरु भएको छ । अमेरिकी इडिभीमा नाम निस्किए पनि भिसा पाउने सुनिश्चितता नहुने र अमेरिकी सरकारले भिसा जारी गर्ने प्रक्रियामा रोक लगाएपछि सन् २०२७ का लागि खुल्ने डिभी भर्ने कि नभर्ने भन्ने प्रश्न उठेको छ । इलेक्ट्रोनिक डाइभर्सिटी लोटरी भिषाको नयाँ आवेदन विश्वभर यही नोभेम्वर १ देखि खुल्दैछ । सुरुमा अक्टोवर २९ देखि खुल्ने भनिएकोमा अहिले सारेर नोभेम्वर १ बाट खुल्ने जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार सन् २०२६ को डिभी कार्यक्रममा नेपालबाट ३ हजार ९३३ जना छनोट भएका थिए । तर छनोट भएका अधिकांश नेपालीले भीषा नै नपाएपछि अमेरिका जान नपाएका हुन् । एकै दिनमा भिषा अन्तर्वाताका लागि पुगेका ९८ जना मध्ये जम्मा दुई जनालाई मात्रै भिषा दिइएको थियो भने बाँकी ९६ जनाको अमेरिका सपना त्यही टुंगिएको थियो । काठमाडौंस्थित अमेरिकी दुताबासले प्रतिव्यक्ति करिब ५० हजार रुपैयाँ शुल्क तोकेर भिषाको लागि आवेदन लिएकोमा अधिकांश इडिभीमा छनौट भएकाहरुले भिषा नै नपाएको बताएका छन् । अमेरिकी दुताबासले डिभी परेकाहरुबाट मात्रै १५ करोड रुपैयाँ भन्दा बढि भिषा शुल्क नै संकलन गर्न सफल भएको थियो । तर, भिषा नदिएर आफ्नै सरकारको चिठ्ठा कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएको छ ।

अमेरिकाले डिसेम्बर २०२५ मा सूचना जारी गर्दै डाइभर्सिटी भिसा जारी गर्ने प्रक्रिया तत्कालका लागि स्थगित गरेको थियो । मन्त्रालयले सुरक्षा जाँच तथा आवेदकको योग्यता परीक्षण प्रक्रियाको पुनरावलोकन गर्न यस्तो निर्णय गरेको जनाएको थियो । २८ अगस्ट २०२६ मा अमेरिकी संघीय अदालतको आदेशपछि उक्त स्थगन हटेको थियो।

त्यसैगरी यसअघि निःशुल्क हुने इडिभी फाराम भर्न अबदेखि एक अमेरिकी डरल लाग्ने भएको छ । डिभी कार्यक्रममा छनोट हुने सम्भावना अत्यन्तै सीमित हुने र छनोट भएपछि पनि भिसा पाउने ग्यारेन्टी नहुने भएकाले अब डिभी भर्ने कि नभर्ने भन्ने अन्यौलता उत्पन्न भएको हो ।

इडिभी आफैमा अमेरिकाको लागि शरणार्थी बन्ने जत्तिकै चुनौतिपूर्ण प्रक्रिया हो । स्वतन्त्र देशका नारिकले यसरी लाइनमा बसेर अमेरिका जाने पाउने चिठ्ठा कार्यक्रममा सहभागी हुने देश विकासबारे सोच्न नेपाली नागरिक सामू प्रश्न तेर्सिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*