क्रिप्टो कारोबारबाट २ अर्ब १६ करोड अवैध धन आर्जन, २८ वर्षीय युवक प्रहरीको फन्दामा

१३ कार्तिक २०८३, शुक्रबार १५:१६

काठमाडौं । अवैध क्रिप्टो करेन्सीको कारोबार तथा अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन् ।

विद्युतीय माध्यम र विभिन्न बेटिङ एपमार्फत जुवाजन्य गतिविधि सञ्चालन गर्ने तथा गैरकानुनी रूपमा डिजिटल मुद्राको किनबेच भइरहेको सूचनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट परिचालित टोलीले यादवको संलग्नताबारे जानकारी संकलन गरी जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा उनलाई पक्राउ गरेको हो । अनलाइन प्लेटफर्मको प्रयोग गरी सट्टेबाजी खेल्ने तथा खेलाउने गतिविधिसँगै ठूलो परिमाणमा क्रिप्टो कारोबार भइरहेको आशंकामा प्रहरीले उनको गतिविधिमाथि निगरानी बढाएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यादवले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको तथ्य खुलेको छ । उक्त कारोबारको परिमाण सार्वजनिक भएसँगै उनीमाथि भइरहेको अनुसन्धान थप महत्वपूर्ण बनेको छ । यद्यपि, कारोबारको प्रकृति, स्रोत तथा यसमा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान हुन बाँकी रहेको छ ।

पक्राउ परेका यादवविरुद्ध अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यसैक्रममा जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि म्याद थप गर्न अनुमति दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*