फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले नयाँ व्यवस्था अघि बढाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रविधि (फिनटेक) मा नयाँ प्रयोग र नवप्रवर्तनलाई प्रोत्साहन गर्न नियामकीय व्यवस्था सुदृढ गर्दै अनुकूल वातावरण निर्माण गरिरहेको जनाएको छ। गभर्नर विश्वनाथ पौडेलले वित्तीय सेवाको विकासका लागि प्रविधि कम्पनी, बैंक तथा वित्तीय संस्था र नियामक निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
सोमबार राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र तथ्यांक विश्लेषणजस्ता प्रविधिले वित्तीय सेवाको पहुँच, गुणस्तर र लागतमा परिवर्तन ल्याउने बताए। यस्ता प्रविधिले वित्तीय पहुँच विस्तार गर्नुका साथै आर्थिक विकासमा समेत योगदान पुर्याउन सक्ने उनको भनाइ छ।
राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विकासका लागि डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, नियामकीय स्यान्डबक्स कार्यान्वयन र सन् २०२६/२७ देखि २०३०/३१ सम्मको फिनटेक रणनीति अघि बढाएको छ। यी पहलबाट नयाँ वित्तीय सेवा र व्यावसायिक मोडेल विकास हुनुका साथै प्रविधिमा आधारित नवप्रवर्तक र वित्तीय संस्थाबीच सहकार्य बढ्ने उनले बताए।
गभर्नर पौडेलले फिनटेकको विकासका लागि सरकारका विभिन्न निकायसँग पनि समन्वय आवश्यक रहेको बताए। राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्यमा वित्तीय सेवा विस्तार, प्रविधिगत नवप्रवर्तन र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा काम गरिरहेको पनि उनले जानकारी दिए।











