न्यायपालिकामाथि उठेका प्रश्नको छानबिन गर्न बारले बनायो चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा समिति

१७ कार्तिक २०८३, मंगलवार ०९:३३

काठमाडौं । न्यायपालिकाको निष्पक्षता र न्यायाधीशहरूको आचरणमाथि पछिल्लो समय उठेका विवादबारे नेपाल बार एसोसिएसनले अध्ययन गर्ने भएको छ। न्यायालयसँग जोडिएका घटनाक्रमको वास्तविकता पत्ता लगाउँदै न्यायिक क्षेत्रको विश्वसनीयता अभिवृद्धि गर्न बारले अध्ययन समिति गठन गरेको हो।

सोमबार बसेको नेपाल बार एसोसिएसनको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षद्वय उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य रहेका छन्। त्यस्तै, बारका केन्द्रीय सदस्य बाबुराम अर्याललाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

समितिले न्यायपालिकासँग सम्बन्धित पछिल्ला विवाद, सार्वजनिक भएका टिप्पणी तथा न्यायाधीशहरूको आचरणसम्बन्धी विषयमा तथ्य संकलन गरी अध्ययन गर्नेछ। साथै, न्यायिक निष्पक्षता, संस्थागत विश्वसनीयता र सुधारका उपाय समेटेर एक महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ।

पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा हिरासतमा रहेका इनम सापकोटा र केही न्यायाधीशबीच भएको भनिएको भेटघाट तथा संवाद सार्वजनिक भएपछि न्यायालयको निष्पक्षतामाथि प्रश्न उठ्दै आएको छ।

यसैक्रममा सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालबीच मुद्दामामिलासम्बन्धी विषयमा भएको भनिएको संवादको च्याट सार्वजनिक भएको थियो। त्यसपछि न्यायाधीश फुयालसहित केही व्यक्तिबीच होटल हिमालयमा भेटघाट भएको विवरणसमेत बाहिरिएको थियो। न्यायाधीश फुयालले भने सापकोटासँग कुराकानी र भेटघाट भएको स्वीकार गरिसकेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*