माण्डु हाइड्रोपावरको नाफा चार गुणाले बढ्यो, पहिलो त्रैमासमै २१ करोडभन्दा बढी कमाइ

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २१ करोड ७० लाख ८६ हजार रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ। कम्पनीको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३३१.९५ प्रतिशतले बढेको हो। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीको खुद मुनाफा ५ करोड २ लाख ५७ हजार रुपैयाँ थियो। यसरी एक वर्षको अवधिमा कम्पनीको खुद नाफा चार गुणाभन्दा बढी भएको छ।
विद्युत् बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धिले नाफा बढाउन मुख्य योगदान दिएको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले विद्युत् बिक्रीबाट ३४ करोड २९ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १६ करोड ६४ लाख २२ हजार रुपैयाँ थियो। त्यस्तै कम्पनीको कुल आम्दानी पनि गत वर्षको १६ करोड ६४ लाख २५ हजार रुपैयाँबाट बढेर यस वर्ष ३४ करोड ३० लाख ५५ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३१ करोड ३९ लाख ३३ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
नाफामा भएको सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ रुपैयाँ ६९ पैसा रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १४ रुपैयाँ ४७ पैसा पुगेको छ। असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५४.३८ गुणा कायम भएको छ।
कम्पनीको चालू अनुपात ०.८२ र सम्पत्तिमा प्रतिफल ४.१३ प्रतिशत रहेको छ। असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर बजार मूल्य ७८७ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। पुँजीगत अवस्था हेर्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। कम्पनीको जगेडा कोष तथा सञ्चित मुनाफा ५९ करोड ७३ लाख ९५ हजार रुपैयाँ पुगेको छ।
माण्डु हाइड्रोपावरले बागमती साना जलविद्युत् आयोजना अन्तर्गत २२ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्दै आएको छ। कम्पनीले थप १० मेगावाट क्षमता विस्तार गरी आयोजनाको कुल उत्पादन क्षमता ३२ मेगावाट पुर्याउने प्रक्रिया अघि बढाएको छ। यसका लागि नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गर्नुका साथै विद्युत् खरिद सम्झौतासमेत सम्पन्न गरिसकेको कम्पनीले जनाएको छ। प्राकृतिक विपत्तिका कारण आयोजनामा क्षति पुगेपछि पुनर्निर्माण गरिएको र अहिले विद्युत् उत्पादन नियमित भइसकेको पनि कम्पनीको वित्तीय विवरणमा उल्लेख छ। उत्पादन नियमित भएसँगै विद्युत् बिक्री आम्दानी बढेको र त्यसको प्रभाव कम्पनीको नाफामा पनि देखिएको हो।











