मालपोतका नासुसँग ९ करोड अकुत सम्पत्ति, परिवारै अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाएको छ। आचार्यले सरकारी सेवामा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको र त्यसलाई विभिन्न माध्यमबाट लुकाउने तथा वैध देखाउने प्रयास गरेको आरोप लगाइएको छ।
आचार्य २०५४ माघ २ गते खोटाङको तत्कालीन गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। आयोगले २०५४ माघ २ देखि २०८० मङ्सिर २१ सम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरेको थियो। उक्त अवधिमा आचार्यको परिवारले पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, घरजग्गा बिक्री, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण, कृषि तथा ब्याज आम्दानीलगायत स्रोतबाट कुल ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको छ।
तर सोही अवधिमा घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, हलेसी डिपार्टमेन्ट स्टोरमा लगानी, सवारीसाधन खरिद, अध्ययन खर्च, शेयर खरिद, ऋण भुक्तानी र बैंक मौज्दातलगायत शीर्षकमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको छ। वैधानिक आम्दानीभन्दा खर्च तथा लगानी ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बढी देखिएको आयोगले जनाएको छ। उक्त रकमको वैध स्रोत खुलाउन नसकेको भन्दै आयोगले आचार्यले भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरेको हो।
भ्रष्टाचारबाट आर्जित सम्पत्ति लुकाउन विभिन्न कारोबार गरेको आरोपमा आचार्यविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत लगाइएको छ। आयोगका अनुसार गैरकानुनी रूपमा आर्जित रकम घरजग्गा खरिदबिक्री, शेयर लगानी, डिपार्टमेन्ट स्टोरमा लगानी तथा साथीभाइसँगको वित्तीय कारोबारमा प्रयोग गरिएको थियो। यसरी विभिन्न चरणमा कारोबार गरी सम्पत्तिको वास्तविक स्रोत लुकाउने र अवैध रकमलाई वैध देखाउने प्रयास भएको आयोगको निष्कर्ष छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आयोगले ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ बिगो कायम गरेको छ। आचार्य राष्ट्रसेवक कर्मचारी भएकाले थप १० प्रतिशत सजायसमेत माग गरिएको छ। साथै गैरकानुनी रूपमा आर्जन तथा शुद्धीकरण गरिएको सम्पत्ति जफत गर्न पनि आयोगले मागदाबी लिएको छ।
आचार्यकी श्रीमती ललिता राजभण्डारीलाई गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणमा सहयोग गरेको आरोपमा मतियारका रूपमा प्रतिवादी बनाइएको छ। उनीविरुद्ध पनि मुख्य कसुरदारसरह सजाय र सम्पत्ति जफतको मागदाबी गरिएको छ। दुवै कसुरमा आचार्य र राजभण्डारीसँग सम्बन्धित बिगो रकम क्रमशः ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा र ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै आचार्यका छोरीहरू निरु आचार्य र सरू आचार्यलाई अवैध रूपमा आर्जित सम्पत्ति लुकाएको वा राखेको आरोपसँग सम्बन्धित सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ। हलेसी डिपार्टमेन्ट स्टोर प्रालिलगायत संस्थासँग जोडिएका कारोबारमा सहयोग गरेको आरोपमा प्रभा बस्नेत र कुमारी कटुवाललाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूसँग सम्बन्धित कारोबारमा ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगो कायम गरी सजाय तथा सम्पत्ति जफतको मागदाबी गरिएको छ।











