स्वाभिमान लघुवित्तको नाफा २१६ प्रतिशतले बढ्यो, खराब कर्जा १२.९२ प्रतिशत पुग्यो

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ । संस्थाले समीक्षा अवधिमा २ करोड ५३ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाको खुद नाफा ८० लाख २७ हजार रुपैयाँ रहेको थियो । यससँगै संस्थाको नाफा गत वर्षको तुलनामा करिब २१६ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्ष ५ करोड २६ लाख ७३ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ७ करोड १९ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाको कुल सञ्चालन आम्दानी ७ करोड ८१ लाख ३८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ करोड ८९ लाख १२ हजार रुपैयाँ थियो ।
संस्थाको सञ्चालन नाफामा समेत उल्लेख्य सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा १ करोड १४ लाख ६७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षमा बढेर ३ करोड ६२ लाख ८० हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म संस्थाले २ अर्ब ८६ करोड रुपैयाँ ग्राहक कर्जा प्रवाह गरेको छ भने ८७ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६६ रुपैयाँ २० पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा ईपीएस २० रुपैयाँ ९२ पैसा थियो ।
यद्यपि, नाफा र आम्दानीमा सुधार देखिए पनि संस्थाको खराब कर्जा अनुपात भने बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८.४१ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १२.९२ प्रतिशत पुगेको छ ।
संस्थाको वितरणयोग्य नाफा ७ करोड १५ लाख ४४ हजार रुपैयाँ रहेको छ भने वार्षिकीकृत वितरणयोग्य प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ६२ पैसा कायम भएको छ ।











