दानबहादुर कार्कीको रिट सर्वाेच्चमा दर्ता, तत्काल पुनर्बहाली गराउन माग

काठमाडौं । आफूलाई गैरकानूनी ढंगले प्रहरी महानिरीक्षकको पदबाट हटाइएको भन्दै नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सर्वाेच्चमा मुद्दा हालेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको सुरक्षा सल्लाहकार पद सिर्जजना गरी सो पदमा दानबहादुर कार्कीलाई खटाउने निर्णय गरेको थियो । दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा खटाएपछि रिक्त हुन आउने प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक मनोजकुमार केसीलाई नियुक्त गरिएको छ भने उनले पदभार समेत ग्रहण गरिसकेका छन् ।
प्रहरी प्रमुखबाट हटाइएका दानबहादुर कार्कीले भने प्रधानमन्त्रीको सल्लाहकारको नियुक्ति पत्र नबुझी आफूलाई गैरकानूनी ढंगले पदबाट हटाइएको भन्दै पुनः प्रहरी महानिरीक्षक पदमा यथास्थितिमा पुनर्बहाली गर्न माग राख्दै बिहीबार कानून व्यवसायी मार्फत सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए । बिहीबार अध्ययनकै क्रममा रहेको भन्दै दर्ता नभएको उक्त रिट आज शुक्रबार दर्ता भएको छ।
.











