तिहारको मुख्य दिन आज, भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै सप्तरंगी वा पञ्चरंगी टीका लगाइदिने परम्परा छ ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ तथा अन्तिम दिनलाई भाइटीका वा यमद्वितीया भनिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा र भक्तिपूर्वक पूजा गरी निधारमा टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्याएर दीर्घायुको कामना गर्ने चलन छ ।
धार्मिक मान्यताअनुसार भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दा उनीहरूको आयु, आरोग्य र ऐश्वर्य वृद्धि हुने विश्वास गरिन्छ । टीका लगाउने क्रममा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले घेरेर परम्पराअनुसार पूजा गर्ने गर्दछन् ।
भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइतअनुसार टीका लगाउन चाहनेका लागि बिहान ११ बजेर ७ मिनेटको अभिजित मुहूर्त उत्तम रहेको छ । यद्यपि, आज दिनभर टीका लगाउन कुनै बाधा नरहेको जनाइएको छ ।
भाइटीकाका अवसरमा लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी टीकाको थालीमा अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजलगायत देवीदेवताको आराधना गर्ने धार्मिक परम्परा छ । मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलाई अष्ट चिरञ्जीवीका रूपमा पूजा गरिन्छ ।
टीका तथा माला लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायत परिकार दिने चलन छ । त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार कपडा, दक्षिणा तथा उपहार दिएर सम्मान र स्नेह प्रकट गर्ने गर्दछन् ।
भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने पर्वका रूपमा समेत परिचित छ । धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको यस पर्वले परिवारका सदस्यबीच आपसी सद्भाव, माया र एकताको सन्देश दिने गरेको छ ।











