अमेरिकी अदालतदा्वारा नरेश भट्टलाई ममता काफ्ले हत्यामा दोषी ठहर

काठमाडौं । अमेरिकामा स्वास्थ्य क्षेत्रमा कार्यरत रहेकी नेपाली युवती ममता काफ्लेको हत्यामा संलग्न भएका भनिएका पति नरेश भट्टलाई अमेरिकाको भर्जिनियास्थित अदालतका न्यायाधीशले दोषी ठहर गर्दै सजाय सुनाउने मिति तय गरेका छन् ।
स्थानीय प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार भएको सुनुवाइपछि न्यायाधीशले काफ्लेकी पति भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने तीन वटा अभियोगमा दोषी ठहर गरेको छ । अब भट्टमाथि आगामी २०२७ मार्च १२ मा सजाय सुनाइनेछ । उनीमाथि २० बर्ष वा सो भन्दा माथिको जन्मकैदको सजाय हुनसक्ने देखिएको छ । न्यायाधीशले दोषी ठहर गरे लगत्तै भटट्लाई प्रहरीले पक्राउ गरेको छ । उनीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरिएको छ ।
हत्यामा संलग्न भएका भनिएका नरेश भट्टले पत्नी ममता काफ्लेले बिष खाएर आत्महत्या गरेको र मृत शरीर मात्रै आफूले लुकाउने प्रयास गरेको दावी गरेका छन् । सो सम्बन्धमा अदालतले कुनै ठोस निर्णय सुनाएको छैन । अदालतमा ममताकी निकट साथी तथा सहकर्मी सुनिता बस्नेत थापाले ममता आत्महत्या गर्ने स्वभावकी नभएको र उनले आफूलाई कहिल्यै आत्महत्या गर्ने इच्छा व्यक्त नगरेको बयान दिएकी थिइन् । उनले सन् २०२३ को डिसेम्बरमा ममताको अनुहारमा चोटसमेत देखेको बताएकी थिइन् र सो चोट पति भट्टको कुटपिटबाट भएको हुनसक्ने दावी गरेकी थिइन् ।
ममता सन् २०२४ मा बेपत्ता भएपछि उनको खोजी र घटनाको अनुसन्धान सुरु भएको थियो । नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको लगायतका अभियोग लगाइएको थियो । सुरुमा ढाँटेका नरेशले पछि शव काटेर फोहोर फाल्ने डस्टविनमा फ्याकेको स्वीकार गरेका थिए ।











