गभर्नरभन्दा डेपुटी गभर्नरको भत्ता बढी, राष्ट्र बैंकले कुन पदमा कति खर्चियो?

१ मंसिर २०८३, मंगलवार १८:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको तलब, बैठक भत्ता र अन्य सुविधामा करिब ३ करोड रुपैयाँ खर्च गरेको छ। बैंकको विवरणअनुसार उक्त आर्थिक वर्षमा उनीहरूका लागि कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ खर्च भएको हो।

उक्त अवधिमा गभर्नर र तीन जना डेपुटी गभर्नरको तलबमा मात्रै ४८ लाख ९६ हजार १०० रुपैयाँ खर्च भएको छ। गभर्नर विश्वनाथ पौडेलले तलबबापत १६ लाख ३२ हजार रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै, डेपुटी गभर्नर किरण पण्डितले १३ लाख ६५ हजार ५८० रुपैयाँ तथा निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले समान ९ लाख ४९ हजार २६० रुपैयाँ तलब बुझेका छन्।

तलबबाहेक बोर्ड बैठकमा सहभागिताबापत पनि उनीहरूले छुट्टै रकम प्राप्त गरेका छन्। यस शीर्षकमा गभर्नर पौडेलले ५ लाख ६७ हजार रुपैयाँ, सञ्चालकसमेत रहेका अर्थसचिव डा. घनश्याम उपाध्यायले ५ लाख ४० हजार रुपैयाँ, डेपुटी गभर्नर पण्डितले २ लाख २५ हजार, तिम्सिनाले २ लाख ३४ हजार र मिश्रले २ लाख ७० हजार रुपैयाँ बुझेका छन्।

राष्ट्र बैंकको खर्च विवरणमा अन्य भत्ता तथा सुविधातर्फको रकम अझ बढी देखिएको छ। गभर्नर पौडेलले यस शीर्षकमा २४ लाख ४९ हजार ९५६ रुपैयाँ प्राप्त गर्दा अर्थसचिव उपाध्यायले ३ लाख ४८ हजार १२० रुपैयाँ बुझेका छन्। डेपुटी गभर्नर पण्डितले ४६ लाख ८ हजार ४१५ रुपैयाँ, तिम्सिनाले ४२ लाख ३५ हजार ७११ रुपैयाँ र मिश्रले ३८ लाख ९७ हजार ५११ रुपैयाँ प्राप्त गरेका छन्।

त्यसैगरी, सञ्चालकहरूका लागि पनि भत्ता तथा अन्य सुविधामा उल्लेख्य रकम खर्च भएको छ। सञ्चालक चिन्तामणि शिवाकोटीले बैठक तथा अन्य भत्ताबापत क्रमशः ५ लाख ४९ हजार र १८ लाख ९७ हजार ९६९ रुपैयाँ बुझेका छन्। डा. शंकरप्रसाद आचार्यले भत्ताबापत ४ लाख ५९ हजार र अन्य सुविधाबापत १८ लाख २४ हजार ८१३ रुपैयाँ प्राप्त गरेका छन्।

अर्का सञ्चालक डा. रविन्द्रप्रसाद पाण्डेले भत्ताबापत ५ लाख ७६ हजार तथा अन्य भत्ता र सुविधाबापत २३ लाख ३५ हजार २०१ रुपैयाँ बुझेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*