एकाबिहानै राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ । मंगलबार बिहान उज्यालो नहुँदै एक व्यक्ति केन्द्रको झ्यालबाट भित्र प्रवेश गरी कम्प्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी गरेर फरार भएको हो ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत चोरीको घटनाबारे जानकारी दिएका छन् । उनले घटनासँग सम्बन्धित सीसीटीभी फुटेजसमेत सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको भिडियोमा एक व्यक्ति बिहान उज्यालो हुनुअघि करिब ५ बजेर ५० मिनेटको समयमा झ्यालबाट केन्द्रभित्र प्रवेश गरेको र त्यहाँ रहेका सामग्री लिएर बाहिरिएको देखिन्छ । केन्द्रबाट एक थान कम्प्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी भएको छ । अध्यक्ष पुनका अनुसार घटनाबारे प्रहरीमा उजुरी गरिसकिएको छ ।
सन् २०१२ मा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्र गैरनाफामूलक संस्था हो । त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुरमा रहेको यस केन्द्रले नेपालमा अनुसन्धान, आविष्कार र नवप्रवर्तनको संस्कृति विकास गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । कृषि प्रविधि, स्वास्थ्य सेवा, कृत्रिम बौद्धिकता तथा सफ्टवेयर प्रविधिलगायतका क्षेत्रमा केन्द्रले अनुसन्धान र नवीन प्रविधिको विकासलाई प्रोत्साहन गर्दै आएको छ ।











