सोनापुर मिनरल्सले लाभांश पारित गर्न मंसिर २३ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले?

२ मंसिर २०८३, बुधबार ०९:१५

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट प्रस्ताव गरेको ५.२६३ प्रतिशत नगद लाभांश पारित गर्न १९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते बुधबार दाङमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभा घोराही उपमहानगरपालिका–१५ स्थित होटल माला इनमा बिहान १० बजे शुरु हुनेछ । सभामा कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि थप ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कायम सञ्चित मुनाफाबाट वितरण गर्न लागिएको हो ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि रहेको छ । साथै आर्थिक वर्ष २०८३/८४ का लागि एम. वर्मा एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषयमा छलफल हुनेछ ।

त्यसैगरी कम्पनीका आधारभूत शेयरधनी वा सञ्चालकसँग सम्बन्धित संस्था तथा कम्पनीसँग भएका कारोबार अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ । सञ्चालक समितिले आर्थिक वर्ष २०८२/८३ मा गरेका निर्णय अनुमोदन गर्ने विषय पनि साधारण सभाको कार्यसूचीमा समेटिएको छ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्तावसमेत रहेको छ । त्यस्तै कम्पनीले चुक्ता पुँजी र सञ्चित मुनाफाको कुल रकमभन्दा बढी हुने गरी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने प्रस्ताव पेस हुनेछ । भविष्यमा पनि सोही सीमाभन्दा बढी ऋण लिनुपर्ने अवस्था आएमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा छलफल गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १० गते एक दिन शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । त्यसैले मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कम्पनीको शेयरधनी दर्ता किताबमा नाम कायम भएका शेयरधनीले मात्र सभामा सहभागी हुन, मतदान गर्न र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*