विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा

३ मंसिर २०८३, बिहीबार ११:०१

काठमाडौं । विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ । वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको हो ।

आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ । उक्त सूचीमा पाकिस्तानको लाहोर सबैभन्दा प्रदूषित सहरका रूपमा पहिलो स्थानमा छ । लाहोरको एक्यूआई ३२५ रहेको छ भने बंगलादेशको राजधानी ढाका २५६ एक्यूआईसहित दोस्रो स्थानमा छ ।

त्यस्तै, भारतको राजधानी दिल्ली १८२ एक्यूआईसहित चौथो स्थानमा रहँदा पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ सहित छैटौँ स्थानमा छन् ।

आईक्यूएयरको तथ्यांकले काठमाडौंको वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको देखाएको छ । यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन् । त्यसैले प्रदूषण बढी भएको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, बाहिर निस्कनुपरे मास्कको प्रयोग गर्न तथा स्वास्थ्य सावधानी अपनाउन आवश्यक देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*