लाभांश र हकप्रद प्रस्ताव सहित सिक्लेस हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १२.७०६ प्रतिशत बोनस शेयर वितरण गर्ने र त्यसपछि ७७.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ। यी प्रस्ताव पारित गर्न कम्पनीले आगामी मंसिर २७ गते पोखरामा २२औं वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो। सभा पोखराको घारीपाटन–१७ स्थित आभ्या क्लबमा बिहान ११ बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १२.७०६ प्रतिशतका दरले १२ करोड ४२ लाख १ हजार २७७ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त बोनस शेयर वितरणका लागि विद्युत् नियमन आयोगबाट समेत स्वीकृति प्राप्त भइसकेको कम्पनीले जनाएको छ।
त्यस्तै बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १ः०.७७४५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। यसअनुसार कम्पनीले ८५ करोड ३२ लाख ९८ हजार ७२३ रुपैयाँ ९७ पैसा बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ। हकप्रद शेयरबाट प्राप्त रकम उपयोग गर्ने विषयमा समेत सभाले निर्णय गर्नेछ।
यसका अतिरिक्त कम्पनीले चुक्ता पुँजीको ०.६६९ प्रतिशतका दरले ६५ लाख २६ हजार ९०९ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त नगद लाभांश बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको हो। साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। त्यसअनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई प्रचलित कानुनअनुसार नामसारी भएर कायम रहेका शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।











