सरकारी ऊर्जा कम्पनीका करिब एक हजार मेगावाटका आयोजनासँग पिपिए प्रक्रिया अघि बढ्दै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारको स्वामित्वमा रहेका विभिन्न ऊर्जा कम्पनीका करिब एक हजार मेगावाट क्षमताका जलविद्युत् तथा सौर्य आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणले सरकारी आयोजनाको पिपिए प्रक्रिया अगाडि बढाएको हो। पहिलो चरणमा करिब एक हजार मेगावाट क्षमताका आयोजनासँग सम्झौता गर्ने तयारी गरिएको छ।
पिपिए प्रक्रियामा रहेका आयोजनामा २१० मेगावाटको चैनपुर सेती, ७० मेगावाटको सिम्बुवा, ४३९ मेगावाटको बेतन कर्णाली, १२४ मेगावाटको जगदुल्ला ए, विद्युत् उत्पादन कम्पनीको ३० मेगावाटको सौर्य आयोजना, ४५४ मेगावाटको किमाथांका र ७७ मेगावाटको चिलिमे सेतीलगायत छन्।
पिपिए सम्पन्न भएपछि सम्बन्धित सरकारी कम्पनीलाई आयोजना निर्माणका लागि लगानी जुटाउन तथा आवश्यक पूर्वाधार विकासको काम अघि बढाउन सहज हुनेछ। आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणले खरिद गर्नेछ। लामो समयदेखि पिपिए हुन नसक्दा सरकारी ऊर्जा कम्पनीहरू लगानी व्यवस्थापन र आयोजना विकासमा कठिनाइ भोग्दै आएका थिए।
यही समस्यालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी स्वामित्वका कम्पनीले अघि बढाएका आयोजनाको पिपिए तत्काल गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए। उनले सरकारी कम्पनीसँगै निजी क्षेत्रका ऊर्जा उत्पादक कम्पनीहरूको विद्युत् खरिद सम्झौता प्रक्रिया पनि अघि बढाउन प्राधिकरणलाई ताकेता गर्दै आएका छन्।











